काठमाडौं: पोखरा, महेन्द्र पुलस्थित अन्तर्राष्ट्रिय झण्डा पार्कमा राष्ट्रप्रेमी युवा पोखराले “पृथ्वी हाम्रो घर हो” भन्ने मूल नाराका साथ विश्व शान्तिको कामना गर्दै विशेष कार्यक्रम आयोजना गरेको छ। युवाहरूले दीप प्रज्वलन गर्दै प्राकृतिक विपदबाट हुने मानवीय तथा भौतिक क्षतिको न्यूनीकरणको कामना गरेका छन्।
कार्यक्रममा विपदबाट ज्यान गुमाएका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै विस्थापित, अङ्गभङ्ग भएका तथा क्षति व्यहोरेका व्यक्तिहरूप्रति सहानुभूति प्रकट गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि अभियान सदस्य उत्तम प्रसाद पौडेलले शोक मन्तव्य व्यक्त गर्दै प्राकृतिक विपद र युद्धबाट हुने क्षतिहरूलाई रोक्न विश्वव्यापी सचेतना आवश्यक रहेको धारणा राखे।
राष्ट्रप्रेमी युवाका संयोजक देवेन्द्रराज सुवेदीको संयोजनमा सम्पन्न कार्यक्रममा सहसंयोजक सुदिप शर्मा पौडेल र दीपक बहादुर गोदारको विशेष भूमिका रहेको थियो। अतिथिका रूपमा रामराज सुवेदी र दुर्गा सुवेदीले आतिथ्यता प्रदान गरेका थिए।
कार्यक्रमको मुख्य सन्देश युद्धको अन्त्य र शान्ति स्थापनाको कामना रहेको थियो। विशेष रूपमा इजरायल-हमास युद्धमा युद्धबन्दी बनेका नेपाली युवा विपिन जोशीको सफल उद्धार र रसिया-युक्रेन युद्धको शीघ्र समाधानका लागि प्रार्थना गरिएको थियो।
दीप प्रज्वलन कार्यक्रमको सञ्चालन बज्रराज अधिकारिले गरेका थिए। कार्यक्रमले युद्ध र प्राकृतिक विपदका समस्याहरूको समाधानका लागि विश्वव्यापी शान्तिको महत्वलाई जोड दिएको छ।