धनगढी: कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रभित्र रहेका व्यवसायीहरूले स्थानीय सरकारको विभेदपूर्ण निर्णयप्रति गम्भीर असन्तुष्टि जनाउँदै चरणबद्ध आन्दोलनको चेतावनी दिएका छन्।
नेपाल बाल संगठन बालमन्दिर र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको जमिनमा व्यवसाय गर्दै आएका १६८ व्यवसायीहरूले आफ्नो संरचनाहरू हटाउने सरकारी निर्णयलाई समर्थन गर्दै संरचना खाली गरिसकेका थिए। तर, पहुँचवाला व्यवसायीहरूलाई मात्र पुनः व्यवस्थापन गरिएको भन्दै उनीहरूले सामाजिक न्यायको अपमान भएको आरोप लगाएका छन्।
यस्तै व्यवसायीहरूले बालमन्दिरका ४६ र खाद्य कम्पनीका १२२ व्यवसायीहरूको उचित व्यवस्थापन नगरिएको र केही विशेष व्यक्तिहरूलाई मात्र प्राथमिकता दिइएको बताएका छन्। उनीहरूको भनाइमा, नक्कली सम्झौताका आधारमा केही व्यक्तिहरूले फाइदा लिएका छन्, जसले बाँकी व्यवसायीहरूको अधिकार कुण्ठित गरेको छ।
व्यवसायीहरूले सबै व्यवसायीलाई समान रूपमा व्यवस्थापन, नक्कली सम्झौताका आधारमा भाडा असुल गर्ने विचौलियालाई कानुनी दायरामा ल्याइनुपर्ने, पहुँचवाला व्यवसायीहरूलाई मात्र प्राथमिकता दिने कार्य तत्काल रोक्नुपर्ने लगायत माग राखेका छन्।
व्यवसायीहरूले सम्बन्धित निकायलाई आफ्ना माग पूरा गर्न आग्रह गर्दै भनेका छन्, “हामीले सरकारी निर्णयलाई सहयोग गर्दै संरचना खाली गरिसकेका छौं। तर, अहिले हाम्रो उपेक्षा गरिएको छ। यदि हाम्रो माग पूरा गरिएन भने हामी चरणबद्ध आन्दोलनमा उत्रिनेछौं।”