धनगढी: भारतको महाराष्ट्रमा बुधबार भएको रेल दुर्घटनामा कैलालीको मोहन्याल गाउँपालिका–६ की ४३ वर्षीया कमला भण्डारीको मृत्यु भएको छ।
उनका भतिजा दीपेन्द्र भण्डारीका अनुसार कमलाको बुधबार भएको उक्त दुर्घटनामा ज्यान गएको हो। कमलासँगै उनकी बुहारी राधा पनि सोही रेलमा सवार थिइन्। उनीहरू सोमबार लखनउबाट मुम्बई जाँदै थिए।
मोहन्याल गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष कृष्णबहादुर शाहीले रेल्वे कम्पनीले कमलाको शव नेपाल पठाइदिने जानकारी गराएको बताएका छन्।
महाराष्ट्रको जलगाउँ जिल्लाको पाचोरा नजिक पारधाडे रेल्वे स्टेशनमा भएको उक्त दुर्घटनामा १३ जनाको मृत्यु भएको थियो। दुर्घटना रेलभित्र आगलागी भएको हल्ला फैलिएपछि केही यात्रु हामफाल्ने क्रममा अर्को रेलसँग ठोक्किएर भएको बताइएको छ।
दुर्घटनापछि मृतकका परिवारमा शोकको छायाँ छाएको छ। घटनाको थप अनुसन्धान भइरहेको भारतीय अधिकारीहरूले जनाएका छन्।