धनगढी: अछामको कमलबजार नगरपालिकामा मोटरसाइकल ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। जिल्लाको कमलबजार नगरपालिका–१, मुलीकी ७२ वर्षीया मैसरा ढकालको मोटरसाइकल ठक्करबाट घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
कमलबजारबाट तुर्माखाँद जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००८ प ४०३ नम्बरको मोटरसाइकलले आइतबार ठक्कर दिएको थियो। दुर्घटनामा परी गम्भीर घाइते भएकी ढकालको घटनास्थलमै मृत्यु भएको अछाम प्रहरी कार्यालयका प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।
प्रहरीका अनुसार उक्त मोटरसाइकल तुर्माखाँद गाउँपालिका–५ का २३ वर्षीय लक्ष्मण बहादुर शाहीले चलाएका थिए। दुर्घटनापछि घटनास्थल पुगेको प्रहरी टोलीले मोटरसाइकल चालक शाहीलाई नियन्त्रणमा लिएको छ।
महिलाले घाँस काट्न जानका लागि बाटो क्रस गर्ने क्रममा दुर्घटना भएको र अहिले दुर्घटनाका विषयमा थप अनुसन्धान गरिरहेको डिएसपी भण्डारीले जनाए।