काठमाडौं: प्रधानसेनापति अशोकराज सिग्देलले लेफ्टिनेंट कर्णेल गंगाबहादुर विष्टमाथि पाँच वर्षसम्म बढुवा रोक्ने सैनिक अदालतको निर्णय सदर गरेका छन्। सैनिक ब्याटल स्कूलमा कार्यरत रहँदा विष्टले सैनिक अनुशासन र आचरण उल्लंघन गरेको (महिलासँग सम्बन्धित अवाञ्छित क्रियाकलाप) आरोपमा उजुरी परेपछि उनलाई सैनिक अदालतले दोषी ठहर गरेको थियो।
ब्रिगेडियर पवन खत्रीको अध्यक्षतामा गठित सैनिक अदालतले दोषी ठहर गरेपछि प्रधानसेनापतिले फैसला सदर गरेका हुन्। यो निर्णयसँगै विष्टको बढुवा कम्तीमा पाँच वर्षसम्म रोकिएको छ।
दुई जर्नेलको पदावधि थप
यसबीच रक्षा मन्त्रालयले दुई जर्नेल— किरण केसी र मानबहादुर महराको सेवा अवधि थप गर्ने निर्णय गरेको छ। चार वर्षे सेवा अवधि पूरा हुनेबित्तिकै लागू हुने गरी उनीहरूको कार्यकाल लम्ब्याइएको हो।
केसी सुदूरपश्चिम पृतना हेडक्वार्टरमा कार्यरत छन् भने महरा सैनिक सचिव विभागमा कार्यरत छन्। केसीको मंसिर ८ गते सकिने सेवा अवधि २०८२ साउन २६ गतेसम्म कायम रहनेछ। त्यस्तै, महराको मंसिर ३० गते समाप्त हुने सेवा अवधि २०८२ भदौ १५ गतेसम्म थप गरिएको छ।
पाँच सैनिक अधिकृत अवकाशमा
सेवा अवधि तथा उमेर हदका कारण पाँच जना सैनिक अधिकृतले अनिवार्य अवकाश पाएका छन्। टंकप्रसाद भट्ट र नवराज गुरुङ मंसिर ३ गतेदेखि अवकाशमा गएका छन्। भट्ट सैनिक सचिव विभागको अतिरिक्त समूहमा कार्यरत थिए भने गुरुङ समारोह सञ्चालन निर्देशनालयमा थिए।
यो निर्णयसँगै नेपाली सेनाको उच्च तहमा केही महत्वपूर्ण परिवर्तन आएका छन्। बढुवा रोक्का, सेवा अवधि थप र अवकाशका निर्णयले नेपाली सेनाको भावी संरचनामा असर गर्ने अनुमान गरिएको छ।