काठमाडौं: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशभर राजनीतिक दौडाहा तीव्र पार्दै पार्टी नेतृत्वभन्दा पनि अघि बढेर जिल्लास्तरमा जनमत बुझ्ने प्रयास गरिरहेकी छन्। गण्डकी र कोसी प्रदेशमा लामो समय बिताएपछि उनले अब लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशको भ्रमणको तयारी थालेकी छन्।
पुस २ गते गण्डकीबाट राजनीतिक सन्देश दिनेगरी दौडाहा थालेकी भण्डारी माघ १४ देखि २१ सम्म कोसीका विभिन्न जिल्लामा पुगिन्। सो क्रममा उनले देशको विकास, आर्थिक-सामाजिक अवस्था र युवापुस्ताको असन्तुष्टिप्रति चिन्ता व्यक्त गरिन्।
तीन प्रदेशमा एक महिनासम्म रहने तयारी
भण्डारी निकट नेताहरूका अनुसार अबको भ्रमणमा उनी आम नागरिकसँग प्रत्यक्ष अन्तरक्रिया गर्नेछिन्। यसअघि गण्डकी र कोसीमा उनले बढी सम्बोधन र औपचारिक भेटघाटमै समय बिताए पनि अब उनी नागरिकको मत बुझ्न चाहन्छिन्।
“पूर्वराष्ट्रपति भइसकेको व्यक्तिले फेरि राजनीतिमा फर्कनु कत्तिको उचित भन्ने बहस उठिरहेका बेला भण्डारीले तीन प्रदेशमा झन्डै एक महिनाजति रहनेछिन्,” एमालेका एक स्थायी कमिटी सदस्यले भने, “पहिला लुम्बिनी, त्यसपछि सुदूरपश्चिम वा कर्णाली कुन अघि गर्ने भन्ने टुंगो लाग्न बाँकी छ।”
एमालेमै फर्कने संकेत?
राष्ट्रपति भएकै कारण सात वर्ष एमाले नेतृत्वबाट टाढिएकी भण्डारीले अब भने पार्टीभित्रको माहौल अध्ययन गर्न थालेकी छिन्। उनका समर्थकहरू भण्डारीलाई पुनः सक्रिय राजनीतिमा ल्याउने पक्षमा छन् भने केही एमाले नेताहरू भने असन्तुष्ट देखिएका छन्।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सम्बन्धका कारण पनि भण्डारीको सक्रियता राजनीतिक वृत्तमा चासोको विषय बनेको छ। स्रोतका अनुसार पुस १८ गते ओलीले भण्डारीसँग दुई घण्टासम्म छलफल गरेका थिए, जसपछि उनको प्रदेश दौडाहा झन् तीव्र भएको छ।
हालका दिनमा युवापुस्ता राजनीतिक दलहरूबाट रुष्ट भइरहेको चर्चा चलिरहेकै बेला भण्डारीले प्रदेश दौडाहामा आम नागरिक र युवाहरूको असन्तुष्टि बुझ्ने योजना बनाएकी छन्।
एमाले नेतृत्वसँग दूरी बढेको लामो समयपछि भण्डारी फेरि पार्टी राजनीतिमा फर्कन खोजिरहेकी छन् कि होइनन् भन्ने प्रश्न अहिले पेचिलो बनेको छ। आगामी भ्रमणले भण्डारीको राजनीतिक भविष्यलाई अझ स्पष्ट बनाउने अनुमान गरिएको छ।