धनगढी: काठमाडौंबाट धनगढी जाँदै गरेको यात्रुबाहक बस कैलालीको लम्कीचुहा नगरपालिका–३, गोराङ्गेमा दुर्घटना भएको छ। सु.प.प्र ०४–००१ ख ००२ नम्बरको बस आज बिहान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीका अनुसार बसमा ४५ जना यात्रु सवार थिए। दुर्घटनामा परी दार्चुलाकी २२ वर्षीया सपना बोहरा घाइते भएकी छन्। उनको पेटमा चोट लागेका कारण लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ। अन्य तीन जना सामान्य घाइते भएका छन् भने बाँकी यात्रु सकुशल रहेको प्रहरीको भनाइ छ।
बस सडक छेउको नालीमा आफैं पल्टिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुर्घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box