धनगढी: बझाङस्थित जयपृथ्वी नगरपालिकाको जालपा माध्यमिक विद्यालयमा कार्यरत सहायक प्रशिक्षक दीपक बोहराले नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा नियुक्ति लिएको खुलेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले घटनामा संलग्न रहेको ठहर गर्दै बोहराविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ।
अनुसन्धानका क्रममा बोहराले उच्च माध्यमिक शिक्षा परिषद्बाट जारी भएको भनिएको कक्षा १२ को लब्धाङ्क पत्र नक्कली रहेको पुष्टि भएको आयोगले जनाएको छ। सोही प्रमाणपत्रको आधारमा उनले जयपृथ्वी नगरपालिकाको नगरकार्यपालिकाको कार्यालय, बझाङमार्फत सहायक प्रशिक्षक पदमा नियुक्ति लिएका थिए।
अख्तियारका अनुसार, नक्कली प्रमाणपत्र प्रयोग गरी सरकारी ओहदा, हैसियत, लाभ तथा सुविधा प्राप्त गर्नु भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) अनुसार दण्डनीय अपराध हो। आयोगले बोहराविरुद्ध कैद तथा जरिवानासहितको सजायको माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
आयोगका प्रवक्ता नरहरि घिमिरेले सार्वजनिक सेवामा यस्ता किर्ते कार्यले गम्भीर असर पार्ने बताउँदै दोषीलाई कानुनी दायरामा ल्याइने बताएका छन्।
