धनगढी: सुदूरपश्चिम प्रदेशसभा सचिवालयले सांसदहरूलाई ल्यापटप वितरण गर्ने तयारी गरेको छ। प्रदेशसभाले सरकारी ढुकुटीबाट ४७ लाख रुपैयाँभन्दा बढी खर्च गरेर ४३ वटा ल्यापटप खरिद गर्ने योजना बनाएको हो।
प्रदेशसभामा ५३ जना सांसद छन्, जसमा १० जना मन्त्री र पदाधिकारी भएकाले बाँकी ४३ जना सांसदलाई ल्यापटप दिन लागिएको प्रदेशसभा सचिवालयले जनाएको छ। एउटा ल्यापटप खरिद गर्न एक लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ।
तर, प्रदेशसभाले यसअघि २०७६ सालमा २७ लाख रुपैयाँ खर्चेर खरिद गरिएका ४६ वटा ल्यापटपहरू हालसम्म गोदाममै थन्किएको छ। ती ल्यापटपहरूको प्रयोगबारे प्रदेशसभा सचिवालय नै अनभिज्ञ रहेको बताइएको छ।
अहिले यो विषयले प्रदेश सभा सदस्यहरुमा मतभेद देखिएको छ। यस अगाडि २०७६ सालमा ल्यापटप वितरणको बेला पनि सांसदहरूबीच मतभेद देखिएको थियो। त्यसबेला केही सांसदहरूले सरकारी ढुकुटीबाट ल्यापटप नकिन्नुपर्ने तर्क गरेका थिए भने कतिपयले यसको समर्थन गरेका थिए।
अब नयाँ ल्यापटप वितरणपछि प्रदेशसभा सदस्यहरूले प्रविधिको सदुपयोग गर्ने कि यो पनि अघिल्लो पटकझैं बेवारिसे अवस्थामा रहने भन्ने विषयमा प्रश्न उठेको छ।