बैतडी: बैतडीमा युवकद्वारा गरिएको खुकुरी प्रहारबाट दुई महिला घाइते भएका छन्। जिल्लाको पुर्चौंडी नगरपालिका–६, रपनाका २० वर्षीय धनवीर धानुकले शनिबार (जेठ ३) बिहान सोही स्थानका ७० वर्षीया बिखमती धानुक र ६८ वर्षीया दुरोपती धानुकमाथि खुकुरी प्रहार गरेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं इन्स्पेक्टर बलदेव बडूले जानकारी दिए।
धनवीरले दुवैजनालाई खुकुरी प्रहार गरी घाइते बनाएका उनले बताए। घाइते बिखमतीको टाउको र दाहिने पाखुरामा चोट लागेको छ। दुरोपतीको बायाँ कानमा चोट लागेको प्रहरीले जनाएको छ।
घाइते दुवैजनालाई उपचारनिम्ति डडेलधुरा अस्पताल पठाइएको बैतडी प्रहरी प्रवक्ता बडूले जानकारी दिए। खुकुरी प्रहार गर्ने धनवीरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उनका अनुसार, बिखमतीका नाति दिनेश धानुकसँग धनवीरको लामो समयदेखि घरायसी विवाद रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दिनेशलाई खुकुरी प्रहार गर्न गएका धनवीरले निजलाई घरमा नभेटेपछि दुई वृद्धामाथि आक्रमण गरेका प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।