बैतडी: बैतडीको सिगास गाउँपालिकामा एक छोराले आफ्नै आमाको शव आँगनमै कुरेर बस्नुपरेको छ। मलामी जाने कोही नपाएपछि प्रकाश टेलरले आमाको शव उठाउन गाडीको खोजी गरिरहेका छन्।
सिगास गाउँपालिका–१, अङडेगाडाका ३० वर्षीय प्रकाश टेलरकी आमा ६१ वर्षीया माना टेलरको शनिबार मधुमेहका कारण मृत्यु भएको थियो। तर, गाउँका कसैले समेत मलामी जान नमान्दा उनको अन्त्येष्टि रोकिएको हो।
माना टेलरको परिवार गाउँकै एक मात्र दमाई परिवार हो। त्यहाँ अन्य दलित समुदाय विश्वकर्मा, लोहार, चुनारा, सार्की भए पनि उनीहरू नै शव बोकेर मलामी जान नमान्दा समस्या झन् जटिल बनेको छ।
“घरबाट आधा घण्टाको दूरीमा ढणालीगाड खोलामा दाहसंस्कार गर्न सकिन्थ्यो। तर, यो जात व्यवस्थाले आमाको शव उठाउन सकिएको छैन,” छोराले भक्कानिँदै भने।
मलामी जाने कोही नभएपछि प्रकाश टेलरले आफ्नो पुर्ख्यौली गाउँ पाटन नगरपालिका–४, बगाडीमा रहेका नातेदारलाई फोन गरी शव वाहन वा ट्याक्टरको व्यवस्था गरिदिन आग्रह गरेका छन्।
यसै विषयमा सिगास–१ का वडाध्यक्ष रामचन्द्र ऐरीले पाटन नगरपालिकासँग गाडीको व्यवस्था गर्न प्रयास भइरहेको बताए।
जातीय विभेदविरुद्ध कानूनी रूपमा निषेध भए पनि व्यवहारमा अझै कुरीति कायम छ। दलित समुदायले नै आपसमा विभेद गर्नु झनै चिन्ताको विषय बनेको छ।
प्रकाश टेलरका बुवा ७२ वर्षीय रोगी छन्। श्रीमतीको मृत्युपछि उनी ओछ्यानमा थलिएका छन्। सामान्य मजदुरी गर्दै जीवन गुजार्ने टेलर परिवार अहिले मसानघाटसम्म पुग्न संघर्षरत छ।