काठमाडौँ: काठमाडौँ प्रहरीले सार्वजनिक बसमा पाकेटमारी गर्दै आएका सात जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट चोरीका २७१ थान मोबाइल, १५ थान ल्यापटप, र ९ थान ट्याब बरामद गरिएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार पक्राउ पर्नेहरूमा काभ्रेको बेथानचोक गाउँपालिका–५ का प्रमोद परियार (३५), खानीखोला गाउँपालिका–५ का गुनराज न्यौपाने (२६), रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–६ का हेमन्त रानामगर (३०), दोलखाको शैलुङ गाउँपालिका–६ का शम्भु विश्वकर्मा (२८), सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ का राजेश चालिसे (२२), दोलखाको कालिन्चोक गाउँपालिका–५ का सबिन पाण्डे (२१), र काठमाडौंको सिनामंगलका प्रकाश कटुवाल (२०) रहेका छन्।
भक्तपुरको थिमिबाट कोटेश्वर आउने क्रममा एक यात्रुले पाकेटमारी भएको भन्दै उजुरी दिएपछि प्रहरीले खोजतलास सुरू गरेको थियो। अनुसन्धानको क्रममा पक्राउ परेका व्यक्तिहरूले चोरीको मोबाइल भक्तपुरको जगातीस्थित सरोज मोबाइल रिपेयरिङ सेन्टरमा बिक्री गर्ने गरेको खुलेको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट विभिन्न ब्रान्डका २७१ थान मोबाइल बरामद गरिएको छ, जसमा १८ थान आइफोन, ८३ थान सामसुङ, १९ थान एमआई, २७ थान हुवावे, १४ थान भिभो, १५ थान रेडमी र अन्य ब्रान्डका थुप्रै मोबाइल समावेश छन्।
प्रहरीले उनीहरूविरुद्ध आवश्यक अनुसन्धान अघि बढाइसकेको जनाएको छ। काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा हुने चोरी रोकथाम गर्न प्रहरीले निगरानी बढाएको जनाएको छ।