काठमाडौं: नेकपा एकीकृत समाजवादी पार्टीका डोटीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले अहिले चर्चामा छन्। केही समय अगाडि पार्टीकै नेतृत्व माधव कुमार नेपालको खेदो खन्दै पार्टी त्यागेको घोषणा गरेर चर्चा कमाएका उनी फेरि एकपटक चर्चामा आएका छन्।
उनले आफू मन्त्री हुँदा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई आफूले पार्टीको दबाबमा नियुक्त गरेको बताएपछि चर्चामा आएका हुन्।
प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा शुक्रबार आलेले आफू संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुँदा पार्टीका सम्मानित नेता झलनाथ खनाल लगायत नेताको दबाबमा नागरिक उड्डयन प्राधिकरण र वायु सेवा निगममा दुई अधिकारी नियुक्ति गर्नुपरेको बताएका थिए।
यसबीच उनै चर्चित माननीय आलेको धनगढी विमानस्थलका नाममा करोडौंको चलखेल तथा झोलझाल गरेको विषय महेन्द्रनगरपोष्टलाई प्राप्त भएको छ। प्राप्त स्रोत सूचना अनुसार आलेले मन्त्री हुँदा धनगढी विमानस्थललाई विस्तार गर्ने भन्दै बैंकलाई समेत गुमराहमा राखेर राज्यको ढुकुटीबाट बजेट दुरुपयोग गरेर व्यक्तिगत कम्पनी खडा गर्दै जग्गा खरिद गरेको खुलेको हो।
आलेले मेघा बैंकका कर्मचारी अमित श्रेष्ठ, बिटुमिम ठेकेदार तथा विचौलिया पवन गुप्ता र आफ्ना पीए (स्वकिय सचिव) हेमन्त रेग्मीसमेतलाई मिलाएर विमानस्थल आसपासमा जग्गा खरिद गरेको खुलेको हो।
उसो त विमानस्थल क्षेत्रको विस्तार गर्ने भन्दै आलेले बजेट विनियोजन गरेको भनेका बेला पनि उनले सो क्षेत्रमा जग्गा किनेको चर्चा चलेको थियो। यद्यपि अहिले आएर उनले गैरकानुनी तरिकाले कर्मचारी मिलाएर बैंकलाई समेत ठगेर रकम हत्याएको र जग्गा किन्दा बचेको रकम समेत पचाएको पाइएको हो।
आलेले मन्त्री हुँदा सुरुमा धनगढी विमानस्थल आसपास जग्गा किन्ने तयारी थालेका थिए। त्यसपछि सोही योजनाअनुरुप एक कम्पनी खडा गरेर मन्त्री भएकै मौकामा मन्त्रालय मातहत रहेको नागरिक उड्डयन प्राधिकरणको मुद्दती खातामा रहेको १ अर्ब रुपैयाँ मेघा बैंकमा जम्मा गर्न लगाएका थिए।
त्यसपछि उनले बैंकमा सेटिङ गरेर बैंकबाट जग्गा धितो राख्दै १ अर्ब ऋण लिए। त्यसपछि बल्ल सोही रकमले उनले धनगढी विमानस्थल आसपासमा ७५ करोड बराबरको ३० बिघा जग्गा किने। त्यसमा उनका पीएसहित ठेकेदार गुप्ताहरु पार्टनर रहेको बताइएको छ।
स्रोतका अनुसार त्यसबेला आलेको समूहले प्रति कट्टा साढे १२ लाखका दरले जग्गा किनेका थिए। पछि विमानस्थल बन्दा ५० लाख प्रती कट्टाका दरले बेच्ने प्लान र त्यहाँ अन्य व्यापारीक संरचना निर्माण गर्न पनि सकिने उनीहरुको योजना थियो।
तथापी आले मन्त्रीबाट हटेपछि विमानस्थल विस्तारको योजना अलपत्र परेसँगै उनीहरूको योजना पनि अलपत्र परेको देखिन्छ। जसक्रममा आले समूहले मन्त्री हुँदै बैंकबाट लिएको १ अर्बमध्येको २५ करोड रकमसमेत कुम्ल्याएको देखिन्छ। तत्कालीन समयमा मन्त्री हुँदा आलेले धनगढी विमानस्थल विस्तारको योजना ल्याएर मुआब्जाका लागि भनेर १ अर्ब बजेटसमेत छुट्ट्याएको बताएका थिए।
तर उनले २०७८ सालमै थालेको उक्त योजना अहिले भने अलपत्र बनेको हो। २०७८ पुस ११ गते तत्कालीत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा एउटा बैठक बसेको थियो।
नेपाल नागरिक उड्डयन प्राधिकरणको सोही बैठकले धनगढी विमानस्थलको विस्तार गर्न भन्दै एक अर्ब बजेट विनियोजन गर्ने निर्णय गरेको थियो। त्यो बेला धनगढीलाई क्षेत्रीय विमानस्थलको रुपमा विकास गर्न २५८ बिघा जमिन अधिग्रहण गरेर १८ सय मिटरको धावनमार्गलाई बढाएर २ हजार ५ सय मिटरको बनाउने भनिएको थियो। स्रोत सुनिश्चित नै नगरी त्यो बेला बजेट विनियोजन गरिएको थियो।
तत्कालीन पर्यटनमन्त्री आले अध्यक्ष रहेको उड्डयन प्राधिकरण बोर्डले २०७७ पुस ११ गते गुरुयोजना स्वीकृत गरेको बाहेक अन्य थप काम अगाडि बढेको छैन।
त्यसपछि अहिले शुक्रवार आलेले समितिमा दबाबमा आएर मन्त्री हुदा प्राधिकरणका महानिर्देशक बनाइएको भनेर भनेका उनै प्रदीप अधिकारीले धनगढी विमानस्थलका लागि जग्गा खरिद शीर्षक नै हटाइदिएका थिए। सो घटनाक्रमसँगै धनगढी विमानस्थल विस्तारको चर्चा समेत सेलाएको हो।
अख्तियार मिलाउने जिम्मा जयबहादुरलाई
यी सबै विषयहरु यदी अख्तियारमा जाने अवस्था बने भने त्यसको लागि पनि तत्कालीन मन्त्री आलेको समूहले निकास खोजेको देखिएको छ। तत्कालीन समयमै आलेले अख्तियारका आयुक्त जयबहादुर चन्दलाई विमानस्थल आसपास सो जग्गा किन्ने कम्पनीको सेयरधनी बनाएर अख्तियार मिलाउने जिम्मा दिएका थिए। त्यसपछि भने यो प्रकरण अहिलेसम्म गुपचुप देखिन्छ।
सोही समयमा मन्त्री हुँदै आलेले कैलालीमै पर्ने हाटखोली क्षेत्रमा पनि ऐलानी जग्गा कौडीको भाउमा खरिद गरेका थिए। उनी काठ नेता हुनु अगाडि काठ व्यवसायी पनि हुन् भने उनले कयौंबाट पैसा लोन लिएर फिर्ता नगरेको पनि चर्चा चल्ने गरेको छ।