धनगढी: सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले पदबाट राजीनामा दिएका छन्। मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री चौधरीले राजीनामा दिएको घोषणा गरेका हुन्। त्यसपछि उनले मुख्यमन्त्री कमलबहादुर शाहलाई राजीनामा बुझाएका छन्।
उनले दिगो वन व्यवस्थापन कार्यविधि मन्त्रीपरिषद्बाट पास गर्दै कार्यान्वयन गर्न ठूलो आर्थिक चलखेल गर्ने योजना बनाएको अडियो सार्वजनिक भएपछि राजीनामा दिनुपरेको हो। ‘अडियो सार्वजनिक भएपछि मैले नैतिकताको आधारमा राजीनामा दिन्छु,’ उनले भने। मन्त्री चौधरीले पदबाट राजीनामा दिएको बताउँदै सत्यतथ्य छानबिनका लागि बाटो खुला गरिदिएको बताए।
उक्त अडियो सार्वजनिक भएपछि मुख्यमन्त्री शाहले पनि पदबाट राजीनामा दिन निर्देशन दिएका थिए। मन्त्री चौधरीका अनुसार उक्त अडियो भदौ महिनाको हो। ‘म भर्खर मन्त्री भएको समयमा केही व्यक्ति भेट्न आएका थिए,’ उनले भने, ‘अडियोमा भएका कुराकानी चिया गफ भइरहेको समयमा हुन्। त्यो समयमा मलाई केही पनि जानकारी थिएन। मेरो इच्छा नहुँदा नहुँदै उनीहरुले कुराकानी गरेका हुन्।’
अडियोमा मन्त्री चौधरीसंगै सचिवालयका कर्मचारी र केही काठ व्यवसायीको आवाज सुन्न सकिन्छ। उनीहरुबीच दिगो वन व्यवस्थापन कार्यविधि निर्माणका लागि आर्थिक चलखेलका विषयमा कुराकानी भएको छ।
अडियोमा मन्त्री चौधरीदेखि मुख्यमन्त्री र नागरिक उन्मुक्तिका केन्द्रीय नेता, तथा आरजु राणालाई समेत मिलाउन, कार्यविधि पास गर्न आर्थिक हिस्सा दिनुपर्ने उल्लेख छ। चौधरी नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य हुन्।