काठमाडौं: कार्यालय समयभन्दा ढिलो पुग्ने प्रहरी कर्मचारीको नामावली प्रहरी हेर्डक्वार्टरलाई जानकारी गराइने भएको छ। प्रहरी महानिरीक्षकको सचिवालयले मातहतका सबै विभागलाई गरेको परिपत्रमा तोकिएको समयभन्दा ढिलो कार्यालय पुग्ने कर्मचारीको नामावली दैनिक रुपमा पेश गर्न निर्देशन दिइएको छ।
सचिवालयले कार्यालय समयमा कर्मचारीहरुलाई अनिवार्य तोकिएको पोशाक दुरुस्त प्रयोग गर्न र अनुशासनको पूर्ण रुपमा पालना गर्नसमेत भनेको छ। महानिरीक्षक दिपक थापाले पदबहालीको क्रममा निर्देशन दिँदै प्रहरी कर्मचारीहरुले प्रयोग गर्ने पोशाक, अनुशासन र समयको पालनाबारे विशेष जोड दिएका थिए। परिपत्रमा लेखिएको छ, ‘अब उप्रान्त प्रधान कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुले समयको पालना, पोशाकको दुरुस्त प्रयोग र पालना गर्नुपर्ने अनुशासनको पूर्ण रुपमा पालना गर्ने गराउने व्यवस्था मिलाउनुहुन निर्देशानुसार अनुरोध गरिएको छ।’
त्यस्तै आदेश पालनाको क्रममा ड्युटीमा रहेका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार भएमा तत्काल कानूनबमोजिम कारबाहीका निम्ति सचिवालयमा प्रतिवेदन पठाउने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ।