काठमाडौं – सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
हालसम्मको मतगणनाअनुसार मेयर पदका उम्मेदवार कांग्रेसका उपेन्द्रबहादुर खड्काले एक हजार ८ सय ४९, नेकपा (एमाले) का मोहनमाया ढकालले एक हजार ७ सय ९७ र राप्रपाका मुकुन्दश्याम गिरीले ७ सय ६९ मत प्राप्त गरेका छन् ।
यस्तै, जनता समाजवादी पार्टीका गगनबहादुर सारुले २२, नेपाल मजदुर किसान पार्टीका गोविन्दनाथ योगीले १३, नेकपा एकीकृत समाजवादीका धनाकुमारी जिसीले १३, राष्ट्रिय जनमोर्चाका विष्णुप्रसाद शर्माले दुई मत पाए । वीरेन्द्रनगरको प्रमुख र उपप्रमुख पदमा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल छ ।
उपप्रमुखमा एमालेका नीलकण्ठ खनालले अग्रता लिएका छन् । उनले दुई हजार ११३, माओवादीका शान्ति ढकालले एक हजार ६४९ र राप्रपाका लक्ष्मीकुमारी विकले ११९ मत प्राप्त गरे । उपमेयर पदका स्वतन्त्र उम्मेदवार अनिल ढकालले ८८, एकीकृत समाजवादीका वीरबहादुर रावतले ३३, नेपाल मजदुर किसान पार्टीका बिजुकला रानाले १६, जनता समाजवादी पार्टी नेपालका सन्तोषी विकले छ मत प्राप्त गरे । वीरेन्द्रनगरमा ४८ हजार ३०४ मत खसेको थियो । वडा नं १६ गणना सम्पन्न भइसकेको छ भने वडा नं १ गणना जारी छ ।
हालसम्मको मतपरिणाम अनुसार सुर्खेतको बराहताल गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका ईश्वरभक्त सुनार, पञ्चपुरी नगरपालिकाको प्रमुखमा कांग्रेसका लालवीर भण्डारी, चौकुने गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका खड्गबहादुर विकले अग्रता लिएका छन् ।
चौकुनेमा काङ्ग्रेस र माओवादी केन्द्रबीच तालमेल छ । त्यस्तै चिङगाड गाउँपालिकाको अध्यक्षमा एमालेका बोधविक्रम जिसी, भेरीगङ्गा नगरपालिकामा कांग्रेसका रामबहादुर सिंह, लेकबेँसी नगरपालिकामा कांग्रेसका उमेश पौडेल र गुर्भाकोट नगरपालिकामा कांग्रेसका हस्त पुनको अग्रता रहेको छ ।