कैलाली– कैलालीको गोदावरी नगरपालिका– ११ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार प्रेमसिंह बडैला विजयी भएका छन् । नेपाली कांग्रेसबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका बडैला फराकिलो मतान्तरले वडामा विजयी भएका हुन् ।
उनले मुख्य प्रतिद्वन्द्वी एकीकृत समाजवादीका शिव विकलाई पराजित गरे । २ हजार १ सय ८४ मतमध्ये बडैलाले १ हजार ७९ मत ल्याए भने विकले ५६९ मत मात्रै ल्याउन सके । विक २०७४ मा वडामा अध्यक्षमा विजयी भएका थिए । यस्तै नेकपा एमालेका भीम विकले ४ सय ४ मत पाए ।
गोदावरीमा तीन दलिय गठबन्धन गर्ने बहस चलिरहेका बेला वडास्तरमा कांग्रेस एक्लै लड्नु पर्छ भन्ने अडान राख्दै आएका बडैलाले विरोध स्वरुप वडाको सिङ्गो समित सहित राजीनामा दिएर चुनावमा होमिएका थिए ।
गोदावरीको मेयर उपमेयरमा गठबन्धन हुँदा वडामा पनि तीन दलबीच भागबडा हुने चर्चा चलेको थियो । पछि वडा तहमा मित्रवत प्रतिस्प्रर्धा गर्ने सहमति भएपछि नेपाली कांग्रेसले गोदावरीका ११ वटै वडामा उम्मेदवार उठाए पनि वडा नम्बर ११ मा भने स्वतन्त्र उम्मेदवार बडैलालाई नै समर्थन गर्न गरेको थियो । बडैला नेपाली कांग्रेस गोदावरी नगर समितिका उपाध्यक्ष समेत हुन् ।