डोटी– डोटीको पूर्वीचौकी गाउँपालिकामा नेपाली कांग्रेसले‘क्लिन स्विप’ गरेको छ । कांग्रेस सातवटै वडामा वडाध्यक्ष र सबै वडा सदस्यसहित गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षमा दोब्बर मतान्तरले विजयी भएको छ ।
गाउँपालिकाको अध्यक्षमा रामप्रसाद उपाध्याय, उपाध्यक्षमा पशुपती खड्का विजयी भएका छन् । उपाध्याय ५ हजार १३३ मतसहित विजयी भएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले)का कृष्णकुमार खड्काले २ हजार २०५ मत प्राप्त गरे । त्यस्तै नेकपा (एकीकृत समाजवादी) का उमेदवार देवबहादुर खड्काले २३२ मत ल्याए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर धामीले २७ मत मात्रै प्राप्त गरे ।
उपाध्यक्षमा पनि कांग्रेसकै पशुपती खड्का ४ हजार ७ सय २१ मतसहित विजयी भइन् । उनका निकट प्रतिद्वन्द्वी एमालेका सारदाकुमारी साउँदले २ हजार ४४४ मत प्राप्त गरिन् । नेकपा (माओवादी केन्द्र)का उमेदवार हरिश कुवँरले २५६ मत मात्रै प्राप्त गरे ।
पूर्वीचौकी गाउँपालिकामा जम्मा ८ हजार २ सय ५६ मत खसेको थियो । गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच गठबन्धन भएपनि माओबादी र समाजवादीका उम्मेदवारले २ सय ५६ मत भन्दा बढी कटाउन सकेनन् ।
वडाध्यक्ष र वडा सदस्यहरु सबै कांग्रेसका उमेदवार विजयी भएका छन् । वडा नंंं १ मा अङ्कबहादुर खड्का, २ मा योगेन्द्र ठकुल्ला, ३ मा खडक धामी, ४ मा बलबहादुर खड्का, ५ मा खडक साउँद, ६ मा पुष्प जोशी र ७ मा प्रेमबहादुर खड्का विजयी भएका छन् । सबै उमेदवारहरु प्यानलसहित भारी मतान्तरले विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।
कांग्रेस भित्रैको अन्तरघातका कारण २०७४ को निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको थियो । नतिजापछि अध्यक्ष उपाध्यायले पूर्वीचौकी गाउँपालिकालाई नमुना गाउँकोरुपमा बिकास गर्न सबै लाग्नु जरुरी भएको प्रतिक्रिया दिएका छन्।
योसँगै डोटीका नौ स्थानीय तहमध्ये पाँच स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ । जसमा तीन पालिकामा नेपाली कांगैसले जित हात पारेको छ भने एउटामा नेकपा एमाले र एउटामा नेकपा माओवादीले जित निकालेको छ ।
डोटीको बडीकेदार गाउँपालिका, पूर्वीचौकी गाउँपालिका, आदर्श गाउँपालिकामा नेपाली कांग्रेसले जितेको छ भने जोरायल गाउँपालिकामा नेकपा एमाले र बोगटान फुड्सिल गाउँपालिकामा नेकपा माओवादीले जितेको छ ।