बैतडी– बैतडीमा नेपाली कांग्रेसको किल्ला भनेर चिनिएको बैतडीको दशरथचन्द नगरपालिकाको मेयरमा नेकपा एमालेले जितेको छ । मेयरमा पुष्करराज जोशी (लख्खभार्ई) विजयी भएका छन् ।
लख्खभाईले ६ हजार ५ सय ८५ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका गजेन्द्रसिंह रावलले ५ हजार ४ सय २७ मत प्राप्त गरे ।
दशरथचन्द नगरपालिकामा २०५४ सालदेखि नै नेपाली कांग्रेसले जित हासिल गर्दै आएको थियो । तर नगरपालिकामा कांग्रेसले पहिलो पटक हार व्यहोरेको छ । मेयरमा विजयी लख्खभाई गएको स्थानीय तहको निर्वाचनमा पनि ६२ मतले मात्रै नेपाली कांग्रेसका नरेन्द्रसिंह थापासंग पराजित भएका थिए । २०७४ मा राप्रपा नेपालबाट चुनाव लडेका लख्खभाई यसपटक भने एमालेबाट चुनाव लडेका हुन् ।
नेपाली कांग्रेसले दशरथचन्द नगरपालिकाका अधिकांश वडाहरुमा समेत हार व्यहोरेको छ । गएको स्थानीय तहमा ११ वडा मध्ये ८ मा जित निकालेको कांग्रेस अहिले पछि परेको छ ।
नेपाली कांग्रेस भित्रको अन्तरघात, पार्टीको व्यवस्थापन लगायतका कारणले कांग्रेसले हार व्यहोरेको कांग्रेसकै नेताहरुले बताएका छन् । पालिकामात्रै नभएर गएको स्थानीय तहमा जित हासिल गरेका वडाहरुमा समेत कांग्रेसले पराजय भोगेको छ ।
गएको स्थानीय तहको निर्वाचनमा वडा नं १,२, ३, ७ र ९ मा विजय हासिल गरेको कांग्रेसल अहिले यी सबै वडामा पराजित भएको छ ।
उपमेयरमा भने नेपाली कांग्रेसकी कौशिला चन्द विजयी भएकी छिन् । नेकपा एमालेकी उपमेयर पदकी उम्मेदवार सरस्वती नेपालीलाई पछि पार्दै उनी उपमेयरमा निर्वाचित भएकी हुन् । चन्द ६ हजार १ सय ७० मतका साथ विजयी भएकी छिन् । उनकी प्रतिस्पर्धी नेकपा एमालेकी सरस्वती नेपालीले ५ हजार ४ सय ९५ मत प्राप्त गरेकी छिन् ।
दशरथचन्द नगरपालिकाका ११ वडा मध्ये वडा नं १ मा एमालेका विष्णुदत्त भट्ट, वडा नं २ मा एमालेका सूर्यबहादुर बोहरा, वडा नं ३ मा एमालेका अजब पाण्डे, वडा नं ४ मा एमालेका भानदेव भट्ट, वडा नं ५ मा, केशब लेखक वडा नं ६ मा नेपाली कांग्रेसका महेन्द्र कार्की विजयी भएका छन् ।
यस्तै वडा नं ७ मा एमालेका हरिदत्त बडु, वडा नं ८ मा नेपाली कांग्रेसका चामुसिंह थापा, वडा नं ९ मा एमालेका मोहनदेव जोशी, वडा नं १०मा कांग्रेसका त्रिलोकसिंह बिष्ट र वडा नं ११ मा एमालेका जयदत्त पन्तले जित हात पारेका छन् ।