धनगढी– कैलालीका १३ वटा पालिकामध्ये अहिलेसम्म एक पालिकाको मात्रै अन्तिम परिणाम सार्वजनिक भएको छ । बाँकी १२ वटा पालिकामा मतगणना जारी छ । जिल्लाको चुरे गाउँपालिकामा मात्रै अन्तिम परिणाम सार्वजनिक भएको छ । जसमा नेकपा एमाले विजयी भएको छ । जिल्लाको बर्दगोरीया गाउँपालिका पनि एमाले जित नजिक पुगेको छ ।
निर्वाचन आयोगका अनुसार मतगणना जारी भएको १२ वटा पालिकामध्ये चारवटा पालिकामा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ । नागरिक उन्मुक्तिले जिल्लाको पूर्वी क्षेत्र टीकापुर नगरपालिका, जानकी गाउँपालिका, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकामा नागरिक उन्मुक्तिका उम्मेदारले अग्रता कायम गरेका छने ।
त्यस्तै गोदावरी नगरपालिका, लम्कीचुहा नगरपालिका, कैलारी गाउँपालिकामा गठबन्धनबाट कांग्रेसका उम्मेदवारको अग्रता छ । यसमध्ये कैलारी गाउँपालिकामा चुनावी तालमेल अनुसार कांग्रेसका उम्मेदवार आधिकारिक होइनन् । यद्यपि कांग्रेसकै रुख चिन्हबाट यहाँका उम्मेदवारले अग्रता कायम गरेका छन् ।
त्यसैगरि गौरीगंगा नगरपालिका र मोहन्याल गाउँपालिकामा माओबादी केन्द्र, घोडाघोडी नगरपालिका एकीकृत समाबादीले अग्रता लिएको छ । माओबादी र एकीकृत समाजबादीले अग्रता कायम गरेका स्थानीय तहमा पनि चुनावी गठबन्धन छ ।
यसैगरि सुदूरपश्चिमको एकमात्रै उपमहानगरपालिका धनगढीमा चुनाव चिन्ह आँपबाट चुनाव लडेका स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायम गरेका छन् ।