काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र र गठबन्धनमा निर्वाचनमा भएको सहकार्यबारे गम्भीर समिक्षा गर्ने बताएका छन् ।
आज पार्टी कार्यालयमा मदन स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रारम्भिक चुनावी परिणामबाट आत्तिनु नपर्ने बताए । उनले कतिपय ठाउँमा राम्रो भएपनि अपेक्षित परिणाम प्राप्त गर्न नसकेको बताए ।
उनले भने, ‘चुनावी नतिजाबाट हामी आत्तिनुपर्ने छैन । प्रारम्भिक चरणमै हामीले हाम्रो पार्टीबाट ५ सय भन्दा बढि प्रतिनिधि निर्वाचित गरेका छौ, त्यसमा वडाध्यक्ष नै सय नाघेका छन्’ ‘१५ देखि २० वटा पालिका प्रमुख नै छन् ।’
‘कतिपय ठाउँहरूमा राम्रै अवस्था भए पनि हामीले अपेक्षित परिणाम प्राप्त गर्न सकेका छैनौँ । गठबन्धन दलका सदस्यहरूले हामीसँग सहकार्य गर्न नचाहे पनि निर्वाचन र गठबन्धनको राम्ररी समीक्षा गरी यो पार्टीलाई बलियो जगमा उभ्याउनु पर्नेछ ।”
अध्यक्ष नेपालले वैचारिकरूपमा दह्रो बनाउनुपर्ने बताउँदै पार्टीलाई जनतामाझ क्रियाशिल गराउन नेता, कार्यकर्ताहरूलाई आग्रह गरे ।