कञ्चनपुर- नेपाली कांग्रेसले कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा आफ्नो विरासत गुमाएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकको निर्वाचन क्षेत्र अन्तर्गत पर्ने महाकाली पारीको नगरपालिकामा उपमेयर र एक वडामा खुम्चिएको छ ।
१० वडा रहेको नगरपालिकामा मेयरसहित ६ वडामा एमाले विजयी भएको छ । दोधाराचाँदनीको मेयरमा एमालेका किशोर लिम्बु दोस्रो पटकको प्रयासमा सफल भएका छन् । ०७४ सालमा कांग्रेसका बीरबहादुर सुनारसंग पराजित भएका लिम्बु यसपटक कांग्रेसकै उम्मेदवार गोपालदत्त भट्टलाई उछिन्दै मेयर बनेका हुन् ।
उनले ७ हजार १०४ मत ल्याए भने भट्टले ६ हजार १७२ ल्याएर पराजित बने । स्वतन्त्र उम्मेदवार भीमबहादुर कुमालले १ हजार ८५३ मत हासिल गरे ।
२०७४ मा कांग्रेसले मेयर र एमालेले उपमेयर जितेको थियो । यस पटक कांग्रेसले उपमेयर जितेको छ । कांग्रेसकी गंगादेवी जोशी ६ हजार ३६५ मत सहित विजयी भइन् । उनकी निकटतम् प्रतिस्पर्धी एमालेकी खीमा चन्दले ५ हजार ८२६ मत मात्रै ल्याइन् । ०७४ सालको चुनावमा कांग्रेसले मेयर सहित ५ वटा वडा जितेको थियो ।
एमालेले ०७४ सालको चुनावमा त्यहाँ उपमेयर सहित ४ वटा वडा मात्रै जितेको थियो । यस पटक मेयर सहित ६ वटा वडा जितेको छ । यस्तै राप्रपाले २, कांग्रेस र माओवादीले १÷१ वडा जितेका छन् ।