कैलाली– यस वर्षको स्थानीय तहको निर्वाचनमा कैलालीमा सबैभन्दा पालिका जितेर रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी जिल्लामा ठूलो दल बन्न सफल भएको छ । जानकी गाउँपालिकामा पनि विजेता बनेपछि नागरिक उन्मुक्ति जिल्लाकै सबैभन्दा ठूलो दल बनेको हो ।
जानकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा गणेश चौधरीले ७ हजार १ सय ५१ मत पाएर निर्वाचित भए ।
उनका निकटतम् प्रतिद्वन्द्वी सत्ता गठबन्धनको साझा उम्मेदवार नेपाली कांग्रेसका परशुराम महतौले ५ हजार २४२ मत पाउँदा एमालेका टंकबहादुर बमले ४ हजार २४१ मत ल्याए । त्यसैगरी उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीकै लालमती देवी कठरिया ६ हजार ५२६ मतसहित निर्वाचित भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी गीता चौधरीले ४ हजार ५ मत ल्याउँदा गठबन्धनबाट माओवादीका जयप्रकाश दहितले ४ हजार ५४८ मत प्राप्त गरे ।
कैलालीमा नागरिक उन्मुक्ति पार्टीले भजनी नगरपालिका, टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिकामा पनि जित हात पारिसकेको छ । जिल्लाको गोदावरी नगरपालिका, कैलारी गाउँपालिका र लम्कीचुहा नगरपलिकामा कांग्रेस, गौरीगंगा नगरपालिका र मोहन्याल गाउँपालिकामा माओवादी केन्द्र र चुरे गाउँपालिका र बर्दगोरिया गाउँपालिकामा एमाले विजयी भएको छ ।
यस्तै घोडाघोडी नगरपािलकामा एकीकृत समाजवादी विजयी भएको छ भने धनगढी उपमहानगरपालिकामा मतगणना जारी छ । यहाँ स्वतन्त्र उम्मेदवार गोपाल हमाल फराकिलो मतान्तरले अग्रता लिइरहेका छन् ।