महेन्द्रनगर – महेन्द्रनगरका सुशील चटौतआफ्नै घरमा कामगर्ने १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गत चैतमा पक्राउ परेर हाल पुर्पक्षको लागि ललितपुरको नक्खुकारागारमा राखिएको छ ।
हाल ललितपुर जिल्ला अदालतमा चटौतको मुद्दासंग सम्बन्धित पक्षसंग बकपत्र चलिरहेको छ ।
आफ्नै घरमा घरायसी कामकोलागि राखेकी बझाङकी १४ वर्षीया बालिकालाई तीन वर्षदेखि पटक–पटक बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका थिए ।
बालिकाले आफैं बलात्कृत भए भनेर प्रहरीमा उजुरी भने दिएकी थिइनन् । घरमै काम गर्न साहुका छोराले पटक–पटक बलात्कार गरेको उजुरी गरे आफ्नै ज्यान जोखिममा पर्ने त्रासले उनी प्रहरीकोमा जान सकेकी थिइनन् ।
तर, उनको मानसिक अवस्था भने बिग्रिदो थियो । ललितपुरको महालक्ष्मी नगरपालिकाको महेन्द्र आदर्श माविकी एक शिक्षिकाले बालिकामा गम्भीर समस्या भएको आकलन गरेर उनलाइ इमाडोल प्रहरी प्रभागमा बुझाइदिएकी थिइन् ।
प्रहरीसँगपनि बालिकाले केही नखुलाएपछि प्रहरी प्रभागले १० चैतमा संरक्षण दिएर र अनुसन्धानमा सहयोग पुर्याउन भन्दै बाल हेल्पलाइनलाई संस्थालाई बुझाएको थियो ।
पाँच दिनसम्म निरन्तरको मनोपरामर्शपछि बालिकाले बल्ल आफूमाथि तीन वर्षदेखि पटक–पटक जबर्जस्ती करणी हुँदै आएको खुलाएकी थिइन् । तर, पहिला बलात्कार भएको भनेकी बालिकाले पछिल्लो समय भने बयान फेरेकी छिन् । प्रहरी र अदालसम्मै उनले बयान फेरेकी छिन् ।
तर, शक्तिको आडमा बालिकालाई ‘होस्टाइल’ गरेको आशंका छन् । सुशीलका बुबा तीर्थराज चटौतको सम्बन्ध प्रधानमन्त्री कार्यालयसम्म छ । प्रधानमन्त्री कार्यालय हेर्ने राज्यमन्त्री उमेश श्रेष्ठ र उनी बझाङमा निर्माणाधीन तीनवटा जलविद्युत परियोजनाका लगानीकर्ता हुन् ।
सोही शक्तिको दुरुपयोग गरेर उनीहरुले बालात्कारजस्तो जघन्य अपराधमा संलग्न भएका छोरा सुशीललाई जोगाउन चलखेल गरेको आशंका गरिएको छ ।
पीडक पक्षको राजनीतिक र आर्थिक पहुँचका कारण यो मुद्दा दबाउन खोजिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताउँदै आएका छन् । ११ जेठमा बकपत्रको लागि जिल्ला अदालत ललितपुर पुग्दा पनि तीर्थराज चटौतले आफ्नै प्राडोमा राखेर बालिकालाई अदालत पुर्याएका थिए ।
यसअघि २८ चैतमा ललितपुरको एक अस्पतालमा स्वास्थ्य परिक्षणको लागि राखिएका बेलासमेत बालिकालाई चटौत परिवारले अपहरण शैलीमा घर लगेको आरोप छ ।