काठमाडौं – नेपाल प्रहरीको आईजीपी नियुक्ति विरुद्धको रिटमा आइतबार सुनुवाइ हुँदै छ ।
सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।
कामु प्रधान न्यायाधीश कार्की र न्यायाधीश चुडालले जेठ ३० मा सुनुवाई गरेर मुद्दा असार ५ मा हेर्दाहेर्दैमा राख्ने आदेश गरेका हुन् ।
वैशाख १८ मा मन्त्रिपरिषद्ले धिरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । एआईजी बढुवा बिरुद्ध पूर्व डीआईजी ईश्वरबावु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले दायर गरेको रिटपनि आईजीपी विरुद्धको रिटसँगै लगाउमा राखेर सुनुवाई भइरहेको छ ।
जेठ १७ मा न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ र कुमार चुडालको बेच्नले एआईजी बढुवा विरुद्धको रिटका प्रत्यर्थी धिरज प्रताप सिंह, रविन्द्र बहादुर धानुक र बसन्त पन्तको म्याद तामेल गरेर जेठ ३० मा सुनुवाइका लागी पेश गर्न आदेश गरेका थिए । घनश्याम अर्याल सहित ३ जना डीआईजीले अहिलेका आईजीपी धिरज प्रताप सिंह र रबिन्द्र बहादुर धानुकलाई वरीयता मिचेर बढुवा गरेको भन्दै रिट दायर गरेका थिए । आईजीपी सिंहले वैशाख १९ मा कार्यभार समालेका हुन् ।