काठमाडौं – प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले आज बुधबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको विविध क्रियाकलापहरुको निरीक्षण गर्नुभएको छ ।
निरीक्षणको क्रममा सिंहले सम्मान गारदको निरीक्षण गरी प्रहरी निरीक्षक आधारभूत तालिम १-१८१ औं समूहको प्रशिक्षार्थीद्वारा प्रदर्शन गरिएको कवाजको अवलोकन गर्नु भएको थियो । त्यसै गरी प्रमुख अतिथिज्यूले प्रशिक्षार्थी ब्यारेक, महिला ब्यारेक र मेसको निरीक्षण गरी प्रतिष्ठान परिसरमा वृक्षारोपण गर्नुभएको थियो ।
महानिरीक्षक सिंहले प्रशासनिक भवनमा रहेका प्रतिष्ठान र अपराध अनुसन्धान विद्यालयका विभिन्न शाखाहरु, कक्षाकोठाहरु, पुस्तकालय तथा घटनास्थल अनुसन्धान तालिम प्रयोगशालाको समेत निरीक्षण गर्नुभएको थियो ।
सिंहले सोही बिशेष अवसरमा United Nations Office For Project Services (UNOPS) को सहयोगमा संचालित “Strengthening Training Capabilities Of Nepal Police” परियोजना अन्तर्गत निर्माण भएको प्रहरी सहायक निरीक्षक र प्रहरी जवान पदको तालिम म्यानुअल नेपाल प्रहरीका विभिन्न १० प्रशिक्षण केन्द्रहरुबाट प्रतिनिधिको रुपमा सहभागी हुनुभएका प्रहरी अधिकृतहरुलाई हस्तान्तरण गरी कार्यक्रममा उपस्थित सम्पुर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन गर्नुभएको थियो ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक मुकुन्द राज आचार्यले प्रमुख अतिथिज्यूलाई प्रतिष्ठानको विविध क्रियाकलापहरु निरीक्षण गरी प्रतिष्ठानमा कार्यरत सकल दर्जाका कर्मचारीहरुलाई दिनुभएको अमुल्य निर्देशन सम्बोधन र आफ्नो व्यस्तता बिच पनि उपस्थित भई प्रतिष्ठान परिवारको हौसला बढाईदिनु भएकोमा हार्दिक धन्यवाद सहित कृतज्ञता जाहेर गर्नुभएको थियो ।
उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक पुजा सिंहज्यू लगायत राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुको भौतिक उपस्थिति रहेको थियो भने नेपाल प्रहरी शिक्षालय भरतपुरका निर्देशक, प्रहरी युक्ति तालिम महाविद्यालयका प्रचार्य तथा सतै प्रदेश प्रहरी तालिम केन्द्रका समादेशकहरुले भिडियो कन्फरेन्स (Video Conference) मार्फत सहभागिता जनाउनु भएको थियो ।