महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा लुम्बिनी प्रदेशको दाङका योजना समावेश गरेको पाइएको छ।
प्रदेशको आर्थिक मामिला मन्त्रालयले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको वार्षिक विकास कार्यक्रममा लुम्बिनी प्रदेशको दाङ जिल्लाको लमही नगरपालिका वडा नम्बर ९ को सिरङगी खोलामा र सोही वडाको कालीखोलामा तटबन्ध निमार्णका लागि बजेट छुट्याइएको पाइएको हो।
प्रदेशको आर्थिक मामिला मन्त्रालयका सचिव जितेन्द्र बस्नेतले भने त्यसमा आफ्नो त्रुटि नरहेको बताएका छन् । संघीय सरकारले सशर्त अनुदानमार्फत पठाएका कार्यक्रमलाई हुवहु प्रदेश सरकारले प्रकाशन गरेको बताए। ‘सशर्त अनुदानमार्फत संघीय सरकारले ७ अर्ब बढीका योजना प्रदेश सरकारलाई पठाएको छ,’ बस्नेतले भने, ‘ती कार्यक्रम परिवर्तन गर्ने अधिकार प्रदेश सरकारसंग छैन। प्रदेश सरकारले त संघीय सरकारले पठाएका कार्यक्रम वार्षिक विकास कार्यक्रममा समावेश गर्ने मात्रै हो। यसमा त्रुटि हाम्रो होइन।’