काठमाडौं – संसदीय विशेष समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई बयानका लागि बोलाएको छ । निवर्तमान अर्थमन्त्री शर्माविरुद्ध लागेको आरोपमाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको मंगलबार बसेको बैठकले शर्मालाई बुधबार बोलाएर बयान लिने निर्णय गरेको हो ।
छानबिन प्रक्रिया अन्तिम चरणतर्फ पुग्दै गर्दा संसदीय विशेष छानबिन समितिले अर्थमन्त्रीविरुद्ध अभियोग पुष्टि हुने कुनै प्रमाण भेट्टाउन सकेको छैन । समितिका एक सदस्यले छानबिनको काम भइरहेको र अहिलेसम्म पहिलो चरणको सम्पन्न बताएको बताए । उनले अब प्राप्त तथ्यलाई केलाएर विस्तृत प्रतिवेदन तयार गरेर सभामुख समक्ष पेस गर्ने बताए ।
समितिले यही बिहीबारसम्ममा आफ्नो प्रतिवेदन बुझाउनुपर्ने छ । असार २२ गते प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको माग बमोजिम प्रतिनिधि सभाका सांसदहरू सम्मिलित विशेष छानबिन समिति गठन भएको थियो । समितिमा ११ जना सांसद रहेका छन् ।
जनार्दन शर्मामाथि चालू आर्थिक वर्षको बजेट बनाउने क्रममा जेठ १४ गते मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएर करका दरहरू हेरफेर गरेको आरोप लागेको थियो । अर्थमन्त्री शर्माले आफूमाथि लागेको आरोपको निरन्तर खण्डन गर्दै आए पनि प्रमुख प्रतिपक्षी दल एमालेले राजीनामा माग्दै आइरहेको थियो ।
सत्तारुढ दलहरुबाटै समेत प्रश्न उठेपछि संसदले २२ असारमा विशेष समिति बनाएको थियो भने शर्माले त्यही दिन अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।