काठमाडौं – नेकपा एमालेका सांसद भीम रावलले प्रमुख राजनीतिक दल र संसदीय समितिमा भएको सहमतिविपरीत नागरिकता विधेयक ल्याएको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको जारी बैठकमा कविता पढ्दै नागरिकता विधेयक ल्याउँदा छल गरिएको पनि जनाउँदै अवधि नै नराखेर विधेयक ल्याएको भन्दै आपत्ति जनाएका हुन् ।
नेपाल नागरिकता (पहिलो संशोधन)विधेयक २०७९ माथिको दफावार छलफलमा सहभागी हुँदै छल हो कि छलफल ? भन्ने कविता वाचन गर्दै रावलले नागरिकता विधेयकमा छलफल होइन, छल भएको तर्क गरेका छन् ।
‘संविधान निमार्णताका प्रमुख राजनीतिक दलहरू र राज्य व्यवस्था समितिमा भएको छलफलको सहमतिविपरीत विधेयक ल्याइएको छ,’ रावलले बैठकमा भने, ‘विशाल ठुला देशको बीचमा रहेको र भू-राजनीतिक अवस्थाको ख्याल नै नगरी कुनै पनि अवधि नै नराखेर नेपाललाई जनसंख्याको राजनीतिको दृष्चक्रमा पारिँदै छ ।’
यसअघि सो नागरिकता विधेयकमा ६ वटा संसोधन प्रस्ताव राखेका रावलले कविता वाचन गर्दै, ‘के रोग लाग्यो मेरो देशलाई उपचार छ कि केही ?’ भनि विधेयक समितिमा लैजान माग गरेका छन् ।