डडेल्धुरा – दार्चुलाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) त्रिभुवन बिष्टको जिम्मेवारी खोसिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणका गणपति बिष्टको जिम्मेवारी खोसिएको हो। उनीमाथि आफू मातहतका सुरक्षाकर्मीलाई बिदामा छाडेर रासनमा अनियमितता गरेको आरोप लागेका थियो। सशस्त्र प्रहरी बल नेपाल, नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका प्रमुख डिआइजी दुर्गाप्रसाद भट्टराईले बिष्टको जिम्मेवारी खोसिएको पुष्टि गरे।
४४ नम्बर गणमा २ सय ५८ जना कार्यरत रहेकोमा एसपी बिष्टले एकै पटकमा १ सय २२ जनालाई बिदामा राखेर रासन भत्ता बुझेको आरोप लागेको छ। यसअघि नै एसपी बिष्टलाई सशस्त्रको ७ नम्बर बाहिनीले स्पष्टिकरण सोधेको थियो भने रासनमा अनियमितता गरेको आरोप लागेपछि छानबिनका लागि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पुरुषोतम थापाको नेतृत्वमा समिति गठन गरिएको थियो। समितिले एसपी बिष्टलाई बिभागीय कारबाही गर्न सिफारिस गरेपछि उनलाई हेडक्वार्टर तानिएको हो।
जेलमा छन् हवल्दार
‘सीमा सुरक्षाका लागि दार्चुलामा खटाइएका १२२ जना सशस्त्र प्रहरी बिदामा !’ शिर्षकमा २८ जेठमा धनगढीबाट प्रकाशन हुने एक सञ्चारमाध्यममा समाचार प्रकाशन भयो। समाचारमा बिदामा बसेका सशस्त्र प्रहरी कर्मचारीको रासन भत्ता नम्बर ४४ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक त्रिभुवन बिष्टको व्यक्तिगत खातामा जाने आरोप पनि लगाइएको थियो। उक्त सूचना मिडियासम्म पुगाउनेको खोजी गर्ने क्रममा सिपाइको मोबाइल परीक्षण गर्न थालियो। वरिष्ठ हवल्दार नरेशसिंह शाहुले पत्रकार सन्तोषसिंह ठगुन्नासंग रासनमा हुने अनियमितताबारे कुराकानी गरेको भेटियो।
पत्रकार ठगुन्नाले पनि सूचना दिने शाहु नै हुन भनेर पुष्टि गरे। मिडियासम्म खबर पुगाएको भन्दै शाहुविरुद्ध सशस्त्र प्रहरीको विशेष अदालतमा असार २२ गते मुद्दा दायर गरियो। शाहुमाथि हातहतियार, गोलीगट्ठा तथा जनशक्ति विवरणसमेत खुल्ने गरी गोपनीयता भंग गरेको आरोप लगाइएको छ। वास्तविक सूचना दिएकै कारण हवल्दार शाहुलाई जन्मकैद माग गर्दै जेल हालिएको छ।