धनगढी- सुदूरपश्चिममा कोरोना सङ्क्रमणको जोखिम बढेको छ। भारतीय सीमानाका तथा अन्य मुलुकबाट नेपाल आउनेहरुमा कोभिडको संक्रमण देखिन थालेपछि जोखिम बढेको हो।
जोखिम बढेसँगै प्रदेशका विभिन्न स्थानीय तह तथा सबै जिल्लाहरुमा पूर्वतयारी थालिएको छ। भारतसँग सीमा जोडिएका जिल्लाहरुमा नाकामा चेकजाँच पनि कडाइ गरिएको छ। यस्तै अन्य जिल्लाहरुमा पनि पूर्वतयारीका विभिन्न कार्यक्रमहरु थालिएका छन्। स्थानीय तहहरु तथा अस्पतालहरुले जोमिख न्यूनीकरण र व्यवस्थापनका लागि आइसोलेसन पनि निर्माण गरिरहेका छन्।
जिल्ला अस्पताल बैतडीको नयाँ भवनमा मात्रै कोरोना सङ्क्रमितको उपचारका लागि १० शय्याको आइसोलेसन तयार पारिएको बताइएको छ। यस्तै जिल्ला अस्पतालामा पनि आइसियुसहितको चार शय्याको आइसोलेसन तयार पारिएको छ।
यसैगरी प्रत्येक स्थानीय तहमा स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्र स्थापना गर्ने निर्णय भएको छ। त्यसका लागि जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र र नेपाल रेडक्रस सोसाइटीसँग समन्वय गरेर अघि बढ्ने निर्णय भएको थियो।यस्तै भारतसँग सीमा जोडिएका कैलाली, कञ्चनपुर लगायतका अन्य सुदूरपहाडका जिल्लाहरुमा पनि स्थानीय तहहरु सङ्क्रमणको जोखिम व्यवस्गापनका लागि सक्रिय बनेका छन्।