— खगेन्द्र गिरि “कोपिला“
नेपाली कांग्रेसका चर्चित नेता प्रदीप गिरिको भाद्र ५ गते ७६ वर्षको उमेरमा निधन भएपछि कांग्रेसको वैचारिक पाटोमा एउटा रिक्तता छाएको छ । कांग्रेसलाई सिद्धान्त र वैचारिकताको सुनपानी छर्किरहने पुस्ताका उनी अन्तिम वक्ता थिए । अब कांग्रेसले हामीभित्र पनि कुनै बेला सैद्धान्तिक छलफल र बौद्धिक अन्तरकृया हुन्थ्यो भनेर सम्झिनुबाहेक अरु विकल्प बाँकी रहेनन् । आजको कांग्रेसलाई सत्ता, सुविधा र शक्ति बाहेक अन्य कुरामा त्यति रुचि छैन । सिद्धान्त त उसको लागि चुनावी घोषणापत्र लेख्दा सम्झिने मन्त्र र वीपी जयन्तीमा वाचन गरिने स्वस्तिगान मात्रै बनेको छ ।
कांग्रेस समाजवादी हो या पुँजिवादी हो? यसमा विवाद गर्ने प्रशस्त ठाउँ भए पनि प्रदीप गिरि भने पक्का र सच्चा समाजवादी थिए भन्ने कुरामा कुनै शंका छैन । नेपाली समाजवादका प्रणेता भनेर वीपी कोइरालालाई मानिए पनि समाजवादको व्याख्या गर्ने र कांग्रेसको विज्ञापनमा समाजवादी रङको जलप भर्ने मुख्य पात्र भने सीके प्रसाईपछि प्रदीप गिरिनै थिए । समाजवादको व्याख्या गर्ने शैली, समाजवादको बाटो, प्रयोग र गन्तव्यको प्रश्नमा उनको वीपीसंग विवाद भएको भनिए पनि बास्तवमा प्रदीप गिरि वीपीको छाँयाबाट कहिल्यै मुक्त हुन सकेनन् ।
प्रदीप गिरि व्यक्तित्व निर्माण र त्यसलाई चम्किलो पार्ने कुरामा भने वीपीभन्दा आफ्ना काका डा. तुल्सी गिरिबाट बढी प्रभावित देखिन्छन् । उनी तुल्सी गिरिजस्तै अध्ययनशील, मेधावी, तीक्ष्ण, विलक्षण प्रतिभाका धनी, तार्किक, वाकपटु र आफ्नो अगाडि प्रस्तुत गरेको जुनसुकै विषयको गहिराईमा गएर बोल्न र विश्लेषण गर्न सक्ने सामथ्र्यका धनी थिए । ढिपीकै तहमा ओर्लेर भएपनि आफ्नो स्वाभिमानमा अडिग रहन सक्ने कला पनि उनमा प्रयाप्त थियो ।
कांग्रेस शुरुमैं समाजवादी बनेको थिएन । २०१२ सालको वीरगंज महाधिवेशनमा मात्रै कांग्रेसले समाजवादको नीति अंगिकार गरेको थियो । सो अधिवेशनमा समाजवादको अवधारणापत्र डा. तुल्सी गिरिले नै प्रस्तुत गरेका थिए तर उनी पाँच वर्षपछि नै समाजवादको चोला फुकालेर निर्दलीय पंचायती व्यवस्थाको रुपरेखा कोर्नपट्टि लागेका थिए । प्रदीप गिरि भने आफ्ना काकाद्वारा प्रतिपादित गरिएको समाजवादको व्याख्या र विश्लेषण गर्नमै आजन्म लागिरहे ।
प्रदीप गिरि सिराहा जिल्लाको बस्तीपुरको सम्भ्रान्त गिरि परिवारमा २००३ साल कार्तिकमा जन्मेका हुन् । उनका काका रुद्रप्रसाद गिरि २००३ मैं कांग्रेसको स्थापना गर्ने संस्थापक हुन् । २००७ सालको क्रान्तिताका प्रदीप गिरिका काका मन्दिप गिरिको भारत दरभंगास्थित घर कांग्रेस कार्यकर्ताहरुको आश्रयस्थल नै बनेको थियो । २००३ सालपछिको डेढ दशकसम्म उनका पिता मित्रलाल गिरि र काकाद्वय रुद्रप्रसाद गिरि तथा डा. तुलसी गिरि कांग्रेसको केन्द्रीय समितीमा रहँदै आएका थिए । उनी जन्मजात कांग्रेसी हुन् भन्दा हुन्छ ।
प्रदीप गिरिलाई उनका काका डा. जयनारायण गिरिले आइए पढेपछि २०२२ सालतिर अमेरिका लैजान खोजेका थिए । तर उनको विद्यार्थी राजनीतिको पृष्ठभूमिले विदेश जाने अनुमति नपाएपछि उनी बनारस पढ्न गए । बनारस पढ्न गएपछि उनमा वाल्यकालमैं पारिवारिक वातावरणले परेको समाजवादी प्रभावमा कांग्रेसका निर्वासित नेताहरु र बनारसस्थित नेपाली विद्यार्थी संगठनको संगतले मलजल ग¥यो । त्यो बेला उनका काका रुद्रप्रसाद गिरि र डा.तुल्सी गिरिले पंचायतमा प्रवेश गरिसकेका थिए । उनका काकाहरुको मेख मार्न वीपी र कांग्रेसका निर्वासित नेताहरुले प्रदीप गिरिलाई प्राथमिकता दिएर अगाडि बढाएको चर्चा पनि चल्थ्यो । तर प्रदीप गिरिको आफ्नै लगन र प्रतिभाले उनले २५ वर्षको उमेरमैं आफूमा वीपीसंगै बहस गर्ने सामथ्र्यको विकास गरिसकेका थिए ।
प्रदीप गिरिले आफ्नै प्रतिभाका कारणले कांग्रेसभित्र आफ्नो परिचय र उँचाई बनाएका थिए । तर उनको त्यही उँचाई र व्यक्तित्व कांग्रेसमा धेरैको आँखामा बिझाउने गथ्र्यो । उनी पहिला कोइराला परिवार र पछि देउवामण्डलीका कहिल्यै प्रिय र अन्तरङ्ग हुन सकेनन् । कांग्रेसको आन्तरिक राजनीतिका खेलहरु नबुझेको, इतिहास र सिद्धान्तका पुस्तक पढ्न मन पराउने र कुनै चिया पसलमा बसेर संसार बदल्छु भन्दै गफ गर्ने स्वप्नजीवि वर्गमा भने प्रदीप गिरि निकै लोकप्रिय थिए र छन् ।
२०४६ सालपछि कांग्रेसमा दुईओटा प्रवृत्ति प्रकट भए— खुमबहादुर प्रवृत्ति र प्रदीप गिरि प्रवृत्ति । खुमबहादुर प्रवृत्तिले छल, बल र दलको चक्रव्युह तयार पारेर सत्ता राजनीतिलाई मुख्य अभिष्ट बनायो । प्रदीप गिरि प्रवृत्ति समाजवादको व्याख्या, विष्लेषण गर्दै कार्यशाला र गोष्ठीमैं रमायो । यी दुई प्रवत्तिले राष्ट्रलाई भने कुनै फाइदा पु¥याएनन् । खुमबहादुर प्रवृत्ति अचेल शेरबहादुर प्रवृत्ति, गगन प्रवृत्ति र कोइराला प्रवृत्तिमा बाँडिएर बिस्तारित नै भएको छ । प्रदीप गिरि प्रवृत्तिको लिगेसी बोक्ने भने अब कोही देखिन्नन् ।
प्रदीप गिरिको राजनीतिक यात्रा पनि द्विविधाग्रष्त मानसिकताले जेलिदै हिडेको देखिन्छ । उनी एकातिर माक्र्सवादलाई आफ्नो विचारधाराको केन्द्रमा राख्थे भने अर्कोतिर पश्चिमी आधुनिकताको पक्षपोषण पनि गर्थे । कांग्रेसको पुजिवादप्रतिको मोह, आर्थिक उदारिकरणप्रतिको अनुराग र खुला समाजप्रतिको रहरको अगाडि प्रदीप गिरिको समाजवाद नीरीह बन्दै गयो । विश्वमा पुँजीवादीहरु र समाजवादीहरुको बीचमा चरम प्रतिष्पर्धा भए पनि प्रदीप गिरिले नेपालमा यी दुई विचारधाराको ककटेल नीति बनाएर बिकाउन खोजे । अन्ततः उनी कागजमा सीमित र प्रयोगमा असफल सिद्धान्तकार मात्रै बनेर थन्किए ।
प्रदीप गिरिका धेरै कुरा विरोधाभासी र द्विविधाग्रस्त देखिन्छन् । ‘मलाई स्वतन्त्रता गुम्ने डरले मन्त्री हुन मन लाग्दैन’ भनिरहे पनि प्रदीप गिरि चारपटक त सांसद नै बने । तीन दशक त उनी कांग्रेसको केन्द्रीय सदस्य नै बने । बोल्न पाउने पद नछोड्ने तर बढी अवगाल आउने पदमा बस्न नचाहने उनको स्वभाव जिम्मेवारीबाट भाग्नेनै देखिन्छ । आफ्नो अलमस्त र मनमौजी पारालाई आफ्नो विशिष्टताको रुपमा प्रदर्शन गर्न रुचाउने प्रदीप गिरिले जीवनभर एउटा विचारलाई बोक्दै एउटा पार्टीमा बसेर कसरी आफ्नो स्वतन्त्रताको रक्षा गरे होलान्? पत्याउन सकिने कुरा होइन । बरु प्रदीप गिरिभन्दा उनका काका डा. तुल्सी गिरिलाई निर्बन्ध र स्वतन्त्र मान्न सकिन्छ ।
‘तपाईं किन कुनै पार्टीमा लाग्नु हुन्न? किन निर्दलीय पञ्चायतको पक्षपोषण गर्नु हुन्छ नि?’ भनेर सोद्धा डा. गिरि भन्ने गर्थे– “पार्टीमा लाग्यो भने व्यक्तिको स्वतन्त्रता गुम्छ, निर्दलीय हुनुजस्तो स्वतन्त्रताको आनन्द अन्त छैन“। जीवनभर दलीय बन्धनमा बसेका प्रदीप गिरिलाई स्वतन्त्र मान्न नसकिने आधार उनकै काकाको उपरोक्त भनाई नै देखिन्छ ।
उसो त “कन्यायो भने सबैको जिउबाट छारो उड्छ“ भनेझैं प्रदीप गिरिका पनि आलोच्य पक्षहरु नभएका त कहाँ हुन् र? हाम्रो समाजले आफ्नो नायकलाई सर्वगुणसम्पन्न खोज्छ । तर प्रदीप गिरिका तार्किकता, वाकपटुता र भाषणकलाभन्दा अरु कुराले मान्छेलाई त्यति तान्दैन थियो । उनबाट एकजना सामाजिक प्राणीले सिक्ने र अनुकरण गर्ने कुरा केही थिएनन् । व्यक्तिगत रुपमा प्रदीप गिरि अनुशासनहीन नै थिए । उनको विसङ्गत जीवनशैलीलाई अनुकरण गर्ने नेपालमा कति पो मान्छे होलान् र? पारिवारिक जिम्मेवारी र सामाजिक तथा सांस्कृतिक उत्तरदायित्वबाट उनी सदैव भागिरहे । उनको जीवनशैली कुनै रेखा, लय र बाटोमा हिडेन । उनी बांगोटिंगो बाटो हिडिरहे । बास्तबमा बांगोटिंगो बाटो हिड्न जति सजिलो हुन्छ अनुशासनबद्ध भएर हिड्न गाहारै हुन्छ । आफू अनुशासनबद्ध भएर नहिड्ने तर समाजवादका स्रोताहरुलाई मात्र अनुशासन भएर हिड्न सिकाउनाले प्रदीप गिरिको समाजवाद नेपाली समाजको लागि त्यति लाभदायक हुन सकेन ।
२०२६ सालतिर नेपालका एकजना विवादास्पद राजनीतिकर्मी ऋषिकेश शाहसंग मिलेर प्रदीप गिरिले एउटा मानवाधिकारवादी संगठन खोजेपछि उनीमाथि शंकाको नजरले हेर्न शुरु गरिएको थियो । सो संस्थाले नेपालमा जातीयताको विउ रोप्ने र देशको विखण्डनको आधार तयार पार्ने काम गरेको आरोप लाग्छ । अमेरिकन गुप्तचर संस्था सिआईएको नेपालको सेनाभित्र विद्रोह गरेर आफ्नो पक्षधर सरकार स्थापित गर्ने षडयन्त्रलाई सो संस्थाले सघाउ पु¥याएको भन्ने पनि आरोप लागेको थियो । प्रदीप गिरिले सो संस्थाको आर्थिक स्रोतको कहिल्यै जानकारी सार्वजनिक गरेनन् । उनका कैयौं गतिविधिहरु अपारदर्शी र शंकाष्पद नै रहे ।
प्रदीप गिरि राष्ट्रियताको ज्वलन्त प्रश्नमा मुखर भएर कहिल्यै अगाडि सरेनन् । नेपाल भारत सीमा विवाद, सन् १९५० को नेपाल भारत सन्धी, टनकपुर सन्धी, विप्पा सम्झौता, एमसीसी र नागरिकता संसोधन विधेयकमा मौन नै रहे । विदेशका योजना र कार्यक्रमहरुलाई नेपाली समाजमा लागु गर्नु पर्छ भनेर चर्को स्वरमा तर्क गर्ने प्रदीप गिरि हाम्रा आफ्ना मौलिक कुराहरु र राष्ट्रियताको प्रश्नमा भने कहिल्यै मुखर भएनन् । २०४६ सालपछिका सरकारहरुले गरेका हरेक राष्ट्रघाती निर्णयहरुमा प्रदीप गिरिले समर्थन नै गरेका छन् ।
नेपालको राजनीतिक वृत्तमा स्वतन्त्रता, वैचारिक निष्ठा र जनपक्षिय चेतनाको मुख्य स्वर प्रदीप गिरिलाई मानिए पनि उनको सीमा र विकल्प त्यो भन्दा अन्यत्र थिएन पनि । उनी जीवनभर कांग्रेसमैं रहे तर कांग्रेसी भने हुन सकेनन् । कांग्रेसले उदारवादको नाममा अवसरवाद र स्वतन्त्रताको नाममा स्वच्छन्दतालाई प्रश्रय दिदै आएको भए पनि प्रदीप गिरि भने समाजवादको धुनीमा आगो जलाईरहे । कांग्रेसको दैनन्दिनी राजनितिमा उनको कुनै उपयोगिता नभए पनि कांग्रेसको मुख्य धारादेखि टाढा बौद्धिकवर्गको साँगुरो वृत्तमा उनले कांग्रेसलाई समाजवादी बनाउने चेष्टा सधैं गरिरहे । प्रदीप गिरिको सीमा, प्राप्ति र उभिने ठाउँ भनेको समाजवाद मात्रै हो । त्यो भन्दा पर उनले केही देखेनन् केही भेटेनन् । उनी आजन्म समाजवादकै साँगुरो पोखरीमा पौडी खेलीरहे । तर आफ्नो बोल्ने कलाले उनले त्यही पोखरीमा नुहाएपछि संसारका सबै समस्याहरुको समाधान हुन्छ भन्ने भान पारिरहे ।
प्रदीप गिरि शक्ति र सत्ताको कुलतबाट जीवनभर टाढा त रहे तर मदिरा र समाजवादको कुलतबाट भने कहिल्यै टाढा रहन सकेनन् ।