काठमाडौं- अछाम पञ्चदेवल विनायकका विनोद शाहीको हत्यामा संलग्न रहेको आरोप लगाउँदै पाँच राजनीतिक दल र संघर्ष समितिले पञ्चदेवल विनायक नगरपालिकाका सार्वजनिक कार्यक्रम बहिस्कार गर्ने भएका छन्। उनीहरुले मेयर अम्बिका चलाउने सहभागी हुने कार्यक्रम बहिस्कार गर्ने जनाएका हुन्।
एमालेका नगर इञ्चार्ज भीमबहादुर बिष्ट, माओवादी केन्द्रका उपसचिव हरिप्रसाद तिमिल्सिना,एकीकृत समाजवादीका सहइञ्चार्ज केशव शाही, विप्लव नेतृत्वको नेकपाका इञ्चार्ज सर्जन धामी, राप्रपा नेपालका नगर अध्यक्ष रणबहादुर शाही र स्व। विनोद शाही संघर्ष समितिका संयोजक रमेश शाहीले संयुक्त विज्ञप्ति जारी गर्दै मेयर सहभागी हुने सार्वजनिक कार्यक्रमहरु बहिस्कार गर्ने बताए।
उनीहरुले तीन दिनभित्र पीडित पक्षसँग भएका सम्झौता पूर्णरुपमा कार्यान्वयन नगरिए अनिश्चितकालका लागि नगरपालिका कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका छन्।