काठमाडौं- कैलालीको बेहडाबाबा माविका तत्कालीन प्रधानाध्यापक गोविन्दराज ओझासहित ३ जनालाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको छ। सोमबार ओझासहित सोही विद्यालयका व्यवस्थापन समिति अध्यक्ष दरवारी राना र लेखापाल गोपाल सेटीलाई पनि कैद तथा बिगो असुल गर्ने गरी दोषी ठहर गरेको हो।
विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय रमेशकुमार पोखरेल र बलभद्र बाँस्तोलाको इजलासले यस मुद्दामा फैसला सुनाएको हो। ‘उहाँहरू तीनैजनालाई ६÷६ महिना कैद र बिगो असुलउपर गर्ने फैसला सुनाइएको हो,’ विशेषका प्रवक्ता दीपेन्द्रनाथ योगीले भने। उनीहरूलाई प्रतिव्यक्ति ३ लाख २५ हजार ९ सय ९२ रुपैयाँ बिगो भराउने फैसला भएको हो। २०७० देखि उक्त विद्यालयमा गैरहाजिर रहेका शिक्षकको जानकारी सम्बन्धित निकायमा नगराई उल्टै गैरहाजिर शिक्षकको नाममा समेत माग फारम भरी २०७३ वैशाखसम्मको तलबभत्ता भुक्तानी लिएको आरोप–पत्रमा उल्लेख छ।
यसैगरी, विद्यालयका सामान खरिद तथा विद्यालयले तोकेको शीर्षकमा रकम खर्च नगरी झुठा बिल भर्पाई बनाई रकम निकासा गरेकोमा समेत प्रधानाध्यापक ओझा लगायतका व्यक्ती दोषी देखिएको अख्तियारको निष्कर्ष थियो।