पीडाको बेला हाम्रा माननीयज्यूहरुलाई यस्तो लेख्ने भनेर गाली नगर्नुहोला किनकी यो मेरो मात्रै होइन, आम दार्चुलाबासी दाजुभाई दिदिबहिनीको हो । दार्चुलावासी आम दाजुभाई दिदिबहिनी जो अहिले घरसहित सारा सम्पत्ति महाकालीमा विलिन भएपछि सडकमा आएका छन्, उनीहरुको पीडा मेरो पनि पीडा हो ।
दार्चुलालाई बाढीले बगाएको बेला उद्योग मन्त्री माननीय दिलेन्द्र प्रसाद बडू दार्चुला पुग्नुभएको छ र दुखको बेला भन्दै महाकाली किनारमा अस्थायी जाली भर्न ढुङ्गा बोकिरहेको तस्वीर सार्वजनिक भएका छन्, पीडाको बेला जनतालाई साथ दिनु राम्रो हो तर दार्चुलावासीले गत फागुनमा भारतले एकतर्फी रूपमा महाकालीको धार परिवर्तन गर्दा सरकार र जनप्रतिनिधिहरुसंग सहयोग माग्दा साथ किन पाएनन् ? हिजोका दिनमा महाकाली नदीको धार फर्काउन नदिएको भए आज दार्चुलामा सदरमुकाम बचाउन सकिन्थ्यो की ?
बाङ्गाबगर पारीमो खेतिला पहिरो हटाउन र भारतले एकतर्फी रूपमा डोजर लगाई महाकालीको धार परिवर्तन गर्दा संसद र सरकारमा भएको बेला बसेर पनि केही गर्न नसकेकोमा माफी मागौं त्यसपछि मात्रै ढुङ्गा बोकौं । संसद र सरकारमा हुँदा दार्चुलावासीको पीडामा साथ नदिने, सरकार र भारतीय दूतावासलाई खबरदारी नगर्ने दिलेन्द्र प्र. बडू र गणेश सिंह ठगुन्ना होइन दार्चुलाले सरकारमा भएपनि नभएपनि दार्चुलावासीको आवाज बुलन्द गर्ने, सरकार र भारतीय दूतावासलाई झक्झक्याउने मन्त्री र सांसद खोजेको छ ।
महाकालीमा ढुङ्गा बोक्न त नरसिंह चैसिर र हंसराज भट्टहरु छन्, युवा संघ, युथ फोर्स, र तरुण दलका युवाहरु छन्, अझ नेवि संघ, अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीहरु छन् मा. दिलेन्द्र प्र. बडू र मा. गणेश सिंह ठगुन्नाले त संसदमार्फत सरकार र भारतीय दूतावासलाई महाकाली नदीको धार परिवर्तन नगर्न नगराउन खबरदारी गर्ने हो, नीति निर्माण गर्ने, महाकाली सन्धी र अन्य दुईदेश बिच प्रचलित कानूनको कार्यान्वयन गर्ने गराउने हो ।
गत फागुनमा भारतले डोजर प्रयोग गरी एकतर्फी रूपमा महाकाली नदीको धार परिवर्तन गर्दा आम दार्चुलावासीहरुले ढुङ्गामुडा गरे तर सरकार र संसदमा बसेर यहाँहरुले के गर्नुभयो ? सरकार र भारतीय दूतावासलाई कत्तिको झक्झक्याउनुभयो ? यदि झक्झक्याउनु भएन भने के कति कारणले झक्झक्याउन सक्नुभएन ? कि त्यतिबेला दार्चुलावासीको माया थिएन ? दार्चुलामा भारतको हेपाह प्रवृति आम दार्चुलावासीहरु देख्छन्, ढुङ्गामुढा गर्छन् तर तपाईहरु किन देख्नुहुन्न ? अहिले बाङ्गाबगरलाई मुख्य असर पारेको स्थान बाङ्गाबगरपारी भारततर्फको खोतिला पहिरो हटाउन आजका दिनसम्म पहल नहुनुको कारण के हो ?
झट्ट हेर्दा माननीयज्यूको दार्चुला आगमनले आम दार्चुलावासीहरुलाई दु:खमा साथ दिएजस्तो देखिएला तर यथार्थमा माननीयज्यूहरुले नीति निर्माण तहमा बसेको बेला ‘महाकाली नदीको धार फर्काउने गरी संरचना बनाउन वा महाकाली नदीको धार परिवर्तन गर्न नपाईने’ महाकाली सन्धीको कार्यान्वयनमा किन भारतलाई झक्झक्याउने हो, सरकारलाई खबरदारी गराई कुटनैतिक पहलमार्फत धार फर्काउन बन्द गराउने हो ।
सबैभन्दा पहिले गत फागुनमा मात्रै भारतले डोजर प्रयोग गरी एकतर्फी महाकालीको धार परिवर्तन गर्दा भारतलाई सो नगर्न नगराउन खबरदारी गर्न नसकेकोमा र वर्षौंदेखिको खोतिला पहिरो हटाउनमा भारतलाई खबरदारी गर्न नसकेकोमा आम दार्चुलाबासीहरु समक्ष सम्पूर्ण माननीयज्यूहरु माफी मागौ अनिमात्रै ढुङ्गा बोक्नतिर लागौं ।
मैले हाम्रा माननीयज्यूहरुलाई यत्ती प्रश्न गरिरहदा निजहरुले सरकार, संसद र भारतीय दूतावासमा एकतर्फी महाकालीको धार परिवर्तन गर्दा भारतलाई सो नगर्न नगराउन खबरदारी गरेको र वर्षौंदेखिको खेतिला पहिरो हटाउनमा पहलकदमी गरेको पाईए पेश गर्नुहोला, म अग्रिम रूपमा माथि उल्लेखित प्रश्न गरेकोमा माफी चाहन्छु, होइन भने पहिला दार्चुलावासीसंग माफी नै माग्ने हो ।
1 Comment
जानुहोस सनसद ्मा भनिएका ति रिकड हरु खोज्नुहोस् अनि गरेका पहलहरु बारे याहा हुन्छ