दार्चुला – दशैँ र तिहारलाई लक्षित गरेर शनिबारदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय दार्चुलाले सुपथ मूल्यमा बिक्री गर्ने सहुलियत पसल सञ्चालन गरिएको छ ।
चाडपर्वमा दैनिक उपभोग्य वस्तुको खपत धेरै हुने हुँदा उपभोक्तालाई राहत दिन सुपथ पसल सञ्चालन गर्न लागिएको सो संस्थाले जनाएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय दार्चुलाका कार्यालय प्रमुख रामसागर मेहताका अनुसार चाडपर्वमा उपभोक्तालाई राहत दिन लिमिटेड केन्द्रीय कार्यालयको लिखित पत्रअनुसार असोज १ गतेबाट कात्तिक १५ गतेसम्म एक हजार पाँचसय क्विन्टल बोरा चामल सुपथ मूल्यमा बिक्री गर्ने लक्ष्य लिएको छ ।
खाद्य संस्थान शाखा दार्चुलाले बासमती चामल, जिरा मसिनो चामल, अरुवा जिरा मसिनो चामल, लगायत मास दालमा प्रत्येक आइटममा प्रतिकेजी ७ रुपियाँका दरले छुट दिने प्रमुख मेहताले बताए । उनले भने, “सहुलियत चामल र दाल खरिद गर्न उपभोक्ताले नागरिकताको प्रमाणपत्र साथमा ल्याउनुपर्ने छ ।” कार्यालयका अनुसार सहुलियत सुविधा प्रतिव्यक्तिलाई एक पटक मात्र हुनेछ ।