काठमाडौं- नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले शुक्रबारदेखिको अविरल वर्षाका कारण सुदूरपश्चिमका विभिन्न स्थानमा आएको पहिरो र बाढीका पीडितलाई सहयोगका लागि नेपाल सरकार र सम्बद्ध सबै निकायसँग आग्रह गरेकी छिन् ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. देउवाले शनिबार विज्ञप्ति जारी गर्दै सुदूरपश्चिमको अछाममा पहिरोका कारण ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गरिन् ।
साथै उनले पहिरोमा परेर घाइते भएकाको तत्काल निःशुल्क उपचारको व्यवस्थाका लागि पनि नेपाल सरकार र सम्बन्धित निकायसँग माग गरेकी छिन् । पहिरोमा ज्यान गुमाउनेका आश्रित परिवारलाई आवश्यक सहयोग र उद्धारका लागि उनले आग्रह गरिन् ।
त्यसैगरी डा. देउवाले कञ्चनपुरमा बाढीका कारण तीन सयभन्दा बढी घर डुबानमा पर्नुका साथै ठूलो जनधनको क्षति भएकाले सो क्षेत्रमा तत्काल उद्धार र राहतका कार्यक्रमका लागि पीडितलाई सहयोग गर्न पनि अनुरोध गरिन् ।
वर्षायाममा हरेक वर्ष नेपालका विभिन्न भू–भागमा बाढी र पहिरोले ठूलो मात्रामा मानवीय र भौतिक क्षति हुने गरेकाले यस समस्याको दीर्घकालीन समाधानका उपायहरूको पहिचान गरेर त्यसको कार्यान्वयन गर्न उनले सरकारसँग अनुरोध गरेकी छिन् ।