आफ्नो राजनीतिक लाभको लागि राष्ट्रघात गर्ने सन्दर्भमा कुपात्रको रुपमा प्रयोग भै रहने नाम हो लेन्डुप दोर्जे । उसो त हिमाली संस्कृतिमा लेन्डुप दोर्जे धेरैको नाम हुन्छ। यो नाम भएका दुई जना व्यक्ति भने निकै चर्चित भए— सिक्किमका लेन्डुप दोर्जे र भुटानका लेन्डुप दोर्जे। सिक्किमका लेन्डुप दोर्जेले दुर्नाम कमाए पनि भुटानका लेन्डुप दोर्जेले भने उद्यमशील, विकासप्रेमी र राष्ट्रप्रेमी व्यक्तिको रुपमा सुनाम कमाएका थिए। सिक्किममा नामग्याल वंशका राजा (चोग्याल) र भुटानमा वाङ्चुक वंशका राजा (ड्र्युक ग्याल्पो) रहने व्यवस्था भएपनि दुबै देशमा दोर्जे वंशका भारादारहरु पनि निकै शक्तिशाली थिए ।
नेपालको राणा वंशजस्तै भुटान र सिक्किमका दोर्जे वंश पनि बेलाबेलामा राजाभन्दा बढी प्रभावशाली रहदै आएका थिए । सिक्किमका लेन्डुप दोर्जे (प्रस्तुत चित्रमा देब्रेतिरका) को पुरा नाम काजी लेण्डुप दोर्जे खाङ्सार्पा हो । उनले सन् १९५३ मा सिक्किम स्टेट कांग्रेस नामको दल खोलेपछि बिस्तारै शक्तिशाली हुँदै गए । त्यही शक्तिको बलमा उनले राजासंग वार्गेनिङ् गर्दै अनेक पद प्राप्त गरे । सन् १९७५ मा सिक्किमलाई भारतमा विलय गर्न उनले मुख्य भूमिका खेले ।
स्वतन्त्र सिक्किमको प्रधानमन्त्री हुने अवसर कहिल्यै नपाएपनि भारतमा विलय भएपछि भने उनी चार वर्ष मुख्यमन्त्री भए । सन् १९७९ को चुनावमा नराम्ररी पराजय भएपछि उनी राजनीतिक परिदृश्यबाटै विलुप्त हुन पुगे । भुटानका लेन्डुप दोर्जे (प्रस्तुत चित्रमा दाहिनेतिरका) लाई डासो लेन्डुप दोर्जेको नामले चिनिन्छ । भुटानमा सन् १९०७ देखि वाङचुक वंशका राजा र दोर्जे वंशका प्रधानमन्त्री हुने व्यवस्था थियो ।
लेन्डुप दोर्जेका बाजे, बुवा र दाजुले पनि ५७ वर्षसम्म निरन्तर भुटानको प्रधानमन्त्री भएर काम गरेका थिए। त्यो बेला भुटानको प्रधानमन्त्रीको मुख्य काम भारतको कालिम्पोङमा व्यापारिक प्रतिनिधिको रुपमा काम गर्नु थियो । सन् १९६४ मा प्रधानमन्त्री जिग्मे पाल्देन दोर्जेको हत्या भएपछि लेन्डुप दोर्जे पनि २९ वर्षको उमेरमैं भुटानको कार्यवाहक प्रधानमन्त्री नियुक्त भएका थिए । तर भुटानका राजा दोर्जे वंशबाट मात्र प्रधानमन्त्री हुने व्यवस्थालाई हटाउन चाहन्थे । भुटानको नागरिकता कानुनमा विदेशी महिलासंग विवाह गरेका पुरुषले सरकारी पद धारण गर्न नपाउने व्यवस्था गरेर लेन्डुप दोर्जेको प्रधानमन्त्री हुने बाटो थुनिएको थियो ।
त्यसपछि लेन्डुप दोर्जे केही वर्ष नेपालमा निर्वासित भएर बसे । कालान्तरमा भुटान फर्किए र उद्योग, व्यापारमा हात हालेर निकै धनी भए । सिक्किमका लेण्डुप दोर्जेले इलिसा मारिया नाम गरेकी बेल्जीयमकी महिलासंग विवाह गरेका थिए भने भुटानका लेन्डुप दोर्जेले ग्लेण्डा एन्नी नाम गरेकी आष्ट्रेलियन महिलासंग विवाह गरेका थिए । यी दुबै जनाको निधन एउटै वर्ष सन् २००७ मैं भएको थियो ।
सिक्किमका लेण्डुप दोर्जे सन् २००७ को जुलाई महिनामा र भुटानका लेन्डुप दोर्जे सन् २००७ को अप्रेल महिनामा स्वर्गे भएका थिए । १०३ वर्षको आयु पाएका सिक्किमका लेन्डुप दोर्जेको जन्म सिक्किमको पाक्योङ भन्ने ठाउँमा भएको थियो तर उनको निधन कालिम्पोङमा भएको थियो । ७२ वर्षको आयु पाएका भुटानका लेण्डुप दोर्जेको जन्म कालिम्पोङमा भएको थियो तर उनको निधन भने आफ्नै देश भुटानमैं भएको थियो ।