विराटनगर – नेकपा (माओवादी केन्द्र) प्रदेश नं १ समितिले गठबन्धनका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ ।
माओवादीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले आज एक विज्ञप्ति जारी गर्दै उक्त निर्देशन दिएका हुन् । उनले पार्टी निर्णयविरुद्ध कदम नचाल्न पनि अनुरोध गरे ।
‘पार्टी र गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका छन् भने समयमै उम्मेदवारी फिर्ता गर्न र पार्टी निर्णयविरुद्ध कदम नचाल्न अनुरोध गर्दछौँ’ विज्ञप्तिमा भनिएको छ, ‘गठबन्धनका विपक्षी उम्मेदवारलाई प्रत्यक्ष/अप्रत्यक्ष सहयोग पुग्ने गतिविधिमा पनि संलग्न भएमा पार्टीले अनुशासनको कारबाही गर्ने व्यवहोरा जानकारी गराउँदछौँ ।’
प्रदेश अध्यक्ष नेम्वाङले अहिलेको गठबन्धन सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानविरुद्धका गतिविधिलाई परास्त गर्न भएको पनि उल्लेख गरेका छन् ।