डडेल्धुरा – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा देउवाले डडेल्धुराका बासिन्दाको पहुँच बालुवाटारमा सबैभन्दा बढी रहेको बताएकी छिन्। उनले डडेल्धुराका बासिन्दा जति अरुले बालुवाटारमा पहुँच नपाउने दाबी गरेकी हुन्।
देउवाको मनोनयन पत्र दर्ता गरेपछि उनले बालुवाटारका लागि डडेल्धुरा जादूको शब्द ‘खुल्जा सिमसिम’ रहेको बताइन्। उनले भनिन्, ‘डडेलधुराको मान्छे जति एक्सेस बालुवाटारमा कसैले पाउँदैन। डडेलधुरा म्याजिक वर्ड जस्तै हो। खुल्जा सिमसिम भन्नेबित्तिकै खुल्ने। म डडेलधुराको भन्नेबित्तिकै भित्र जान पाउँछ। काठमाडौंको बासिन्दाभन्दा डडेल्धुराको बासिन्दाले धेरै गाउँगाउँ वडावडाका साथीहरुले भेट्न पाएका छन्।’
उनले देउवाले डडेलधुरा नै पुगेर भेट्नुपर्ने भन्ने नरहेको समेत बताइन्। उनले देउवा देश चलाउन व्यस्त रहेको जानकारी दिइन्। दिल, दिमाग र सोचविचारले देउवा डडेलधुरामै रहेको उनको दाबी थियो। भौतिक रूपले आफूहरु टाढा बसे पनि डडेलधुरालाई हेर्ने एउटा संयन्त्र सेटअप रहेको बताइन्।