डडेल्धुरा – प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरीमाथि आज निर्णय हुने भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज ५ बजेसम्म देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरीमाथि निर्णय लिने भएको हो।
मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले सोमबार परेको उजुरीमाथि छानबिन सुरु भइसकेको बताउँदै भने, ‘उम्मेदवारविरुद्ध परेका उजुरीको निर्णय निर्वाचन अधिकृतले नै गर्न पाउने कानूनी व्यवस्था छ। सोहीअनुसार आज साँझ ५ बजेसम्म निर्णय लिन्छौं।’
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उम्मेदवारविरुद्ध परेको उजुरीबारे निर्णय लिने सम्पूर्ण अधिकार मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई दिएको बताए। ‘यसमा हामीले केही बोल्न र मुख्य निर्वाचन अधिकृतको कार्यालयमाथि हस्तक्षप गर्न मिल्दैन,’ उनले भने।
प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेम भट्टका अनुसार नागरिकता र मतदाता नामावलीमा फरकफरक मिति रहे पनि अन्य विवरण मेल खाए ठुलै समस्या नहुने बताउँछन्। ‘मतदाता नामावलीमा रहेको त्रुटी सच्याउनका लागि समय दिइएको थियो,’ उनले भने, ‘सो समयमा सम्बन्धित व्यक्तिले त्रुटी रहेको जानकारी नपाएकाले त्यस्तो समस्या आएको हुनसक्छ।’
एउटामात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट उम्मेदवारी दिएका प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति देउवाको उम्मेदवारी रद्द गर्नुपर्ने माग गर्दै उनका प्रतिस्पर्धी कर्ण मल्लले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए। देउवाको नागरिकता र मतदाता नामावलीमा फरकफरक जन्ममिति रहेको भन्दै मल्लले उम्मेदवारी खारेजीको मागसहित उजुरी दिएका हुन्।
नागरिकतामा २००३ जेठ ३१ गते जन्ममिति रहेको देउवाको मतदाता नामावलीमा २००२ साल जेठ ३१ गते रहेको पाइएको छ। देउवाको उम्मेदवारीविरुद्ध उजुरी दिने मल्ल नेपाली काँग्रेसका पूर्व डडेल्धुरा सभापति हुन्। उनी ०७४ सालको निर्वाचनमा काँग्रेसबाटै प्रदेशसभा सदस्इमा विजयी भएका थिए। वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा एमालेसंग तालमेल गर्दै काँग्रेस बीपीको चुनाव चिह्नबाट आफूनिकटका व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै काँग्रेसले मल्ललाई पार्टीबाट निष्कासित गरेको थियो। अहिले काँग्रेस बीपीका बरिष्ठ उपसभापति रहेका मल्लले देउवाविरुद्ध चुनाव लड्न उम्मेदवारी दर्ता गरेका छन्।