डडेल्धुरा – प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफूविरुद्ध परेको उजुरीको जबाफ बुझाएका छन्। देउवाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पत्नी आरजु राणा देउवामार्फत उजुरीको जबाफ बुझाएका हुन्।
मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले प्रमाणसहित उजुरीको जबाफ आएको जानकारी दिए। ‘नागरिकता र मतदाता नामावलीमा जन्ममिति फरकफरक रहेको भन्दै उजुरी परेको थियो,’ उनले भने, ‘२ बजेसम्म जबाफ दिने समय तोकिएकोमा दुई घण्टा अगाडि नै जबाफ आइसकेको छ। छानबिन गर्दै आज साँझ ५ बजेसम्म निर्णय लिन्छौं।’ उम्मेदवारविरुद्ध परेका उजुरीको निर्णय निर्वाचन अधिकृतले नै गर्न पाउने कानूनी व्यवस्था छ।
देउवा पत्नी आरजुले प्रमाणका रुपमा वडा कार्यालयको सिफारिस पनि बुझाएकी छिन्। यस्तै नागरिकताअनुसार नै निर्वाचन आयोगले मतदाता नामावली तयार पारेकोले विवरण प्रविष्ट गर्दा आयोगले नै त्रुटी गरेको पनि जबाफमा उल्लेख गरिएको काँग्रेसका एक नेताले बताए। एउटामात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट उम्मेदवारी दिएका प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति देउवाको उम्मेदवारी रद्द गर्नुपर्ने माग गर्दै उनका प्रतिस्पर्धी कर्ण मल्लले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए। देउवाको नागरिकता र मतदाता नामावलीमा फरकफरक जन्ममिति रहेको भन्दै मल्लले उम्मेदवारी खारेजीको मागसहित उजुरी दिएका हुन्।
नागरिकतामा २००३ जेठ ३१ गते जन्ममिति रहेको देउवाको मतदाता नामावलीमा २००२ साल जेठ ३१ गते रहेको पाइएको छ। देउवाको उम्मेदवारीविरुद्ध उजुरी दिने मल्ल नेपाली काँग्रेसका पूर्व डडेल्धुरा सभापति हुन्। उनी ०७४ सालको निर्वाचनमा काँग्रेसबाटै प्रदेशसभा सदस्यमा विजयी भएका थिए। वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा एमालेसंग तालमेल गर्दै काँग्रेस बीपीको चुनाव चिह्नबाट आफूनिकटका व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै काँग्रेसले मल्ललाई पार्टीबाट निष्कासित गरेको थियो। अहिले काँग्रेस बीपीका बरिष्ठ उपसभापति रहेका मल्लले देउवाविरुद्ध चुनाव लड्न उम्मेदवारी दर्ता गरेका छन्।