काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरूलाई हटाउने तयारी गरेका छन् ।
यसका लागि काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले दिउँसो सत्तारुढ गठबन्धनमा आबद्ध दलका नेताहरूलाई भेट्दैछन् । गठबन्धनमा आबद्ध दलका नेताहरूको पनि जसपाका मन्त्रीहरूलाई हटाउनुपर्नेमा जोड छ ।
सत्ता गठबन्धनमा रहेको जसपाले आसन्न चुनावका लागि १४ जिल्लामा एमालेसँग तालमेल गरेको छ ।
जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षी मन्त्री मृगेन्द्रकुमार सिंह छन् । उनीहरू तत्काल राजीनामा दिने मुडमा छैनन् ।
प्रधानमन्त्रीले मन्त्रीहरू हटाए पनि नयाँ नियुक्त गर्न भने पाउने छैनन् । निर्वाचन आयोगका अधिकारीहरू पनि नयाँ मन्त्री नियुक्ति आचारसंहिता विपरीत हुने बताउँछन् ।
२०७८ जेठमा प्रतिनिधिसभा विघटनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारलाई सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत निस्तेज पारिदिएको थियो । त्यो मुद्दा अहिले पनि विचाराधीन छ ।