काठमाडौँ – काठमाडौँ-१० मा नेकपा माओवादी केन्द्रले सत्तारुढ गठबन्धन तोडिएको घोषणा गरेको छ ।
सत्ता गठबन्धनको सिट बाँडफाँट अनुसार यो क्षेत्रमा नेकपा माओवादी केन्द्रको भागमा परेको छ ।
त्यस अनुसार माओवादी नेता अञ्जना विशंखे उम्मेदवार बनेकी छन् । तर नेपाली कांग्रेसका नेता राजन केसीले पनि उम्मेदवारी दिएका छन् । यहाँका दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये काँग्रेस र मओवादीले एक-एक वटा लिने सहमति भएको थियो । तर प्रदेशसभामा पनि सत्ता गठबन्धनका एक भन्दा बढी दलबाट उम्मेदवारी परेको छ ।
काठमाडौं १० (क) मा कांग्रेसका पुकार महर्जन र माओवादी केन्द्रक दिलीप महर्जनले उम्मेदवारी दिएका छन् । काठमाडौं १० (ख) मा एकीकृत समाजवादीकी रमा आले र माओवादी केन्द्रका गणेशबहादुर कुँवरले उम्मेदवारी दिएका छन् ।
प्रतिनिधिसभाकी उम्मेदवार अञ्जना विशंखेले स्वच्छ प्रतिस्पर्धा गर्ने सर्तमा गठबन्धन तोडिएको बताइन् ।
अघिल्लो चुनावमा काठमाडौँ-१० मा बाम गठबन्धनलाई पराजित गर्दै नेपाली कांग्रेसका राजन केसी निर्वाचित भएका थिए । कांग्रेसका केसीले २४ हजार १ सय ९० मत ल्याउँदा माओवादीका हितमान शाक्यले २१ हजार ९०७ मात्रै मत ल्याएका थिए ।
काठमाडौँका अधिकांश क्षेत्रमा माओवादी कमजोर रहेको छ । काठमाडौँका निर्वाचन क्षेत्रमध्य बढी मत पाएको भनेको क्षेत्र नं.१० मात्रै हो ।
२०७४ सालमा समानुपातिक पद्धतितर्फ माओवादीले ७ हजार ७६६ मत पाएको थियो । ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा माओवादीका वडाध्यक्षका उम्मेदवारले ७ हजार २६९ रहेको छ ।