रौतहट – सत्तारूढ गठबन्धनबाट माओवादी केन्द्रको रौतहट ३ नम्बर क्षेत्रका उम्मेदवार धिरज पटेलले आफ्नो उम्मेदवारी कायम र हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । उनले आफ्नो क्षेत्रमा एमालेबाट बाहिरिएर स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहलाई माओवादीले समर्थन गर्ने कुरामा कुनै सत्यता नरहेको दाबी गरेका छन् ।
पटेलले आफू लामो समयदेखि माओवादीमा रहेर काम गरिरहेको र सोही आधारमा पार्टीले उम्मेदवार बनाएको भन्दै आफू नै आधिकारिक उम्मेदवार रहेको दाबी गरेका छन् । उनले केन्द्रीय पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै पछि हट्नु भने पनि आफ्नो प्रतिस्पर्धी प्रभु साहलाई कुनै हालतमा समर्थन नगर्ने र आफ्नो चुनावी अभियान अघि बढ्ने स्पष्ट पारेका छन । उनले भने, ‘बरु मलाई गोली हानेर मारे पनि म उम्मेदवारी फिर्ता लिनेवाला छैन । र, प्रभु साहलाइ समर्थन गर्नेवाला छैन ।’
उनले जो मान्छे आफ्नो पार्टीको भएन । एमालेको भएन । त्यो मान्छे जनताको हुन नसक्ने बताए । पटेलले भने, ‘प्रभु साहजी त हरियो घाँसभित्र हरियो सर्प जस्तो बसेर लुक्नु भा’थो । उहाँले धेरैलाई डस्नु भयो । कुनैबेला प्रचण्डलाई डस्नु भो, माधव नेपाललाई पनि डस्नु भो । अहिले आएर केपीजीलाई पनि डस्नु भो । यदि उहाँसित अब हामी सचेत भएनौं भने रौतहटका जनता सचेत भएनन् भने अब जनतालाई नै डस्नेवाला छ ।’
उनले आफ्नो क्षेत्रमा सत्ता गठबन्धन एकढिक्का रहेको उल्लेख गर्दै विभिन्न दलको सहारामा पटकपटक प्रतिनिधि बनिसकेका र भ्रष्टाचारको आरोप लागेका साहलगायतहरू पराजित हुने दाबी गरे । उनले भने, ‘अब प्रभु साहजी त हारिसक्नु भा’को छ नि १ उहाँ पराजित भएर पो हाम्रै पार्टीका केही नेताको घर घरमा धाइरहनु भा’छ । षड्यन्त्र गर्दै हुनुहुन्छ । उहाँलाई संसदमा जानु छ, पुग्ने कसरी हो रु कसको दलाली गर्ने ? कसको चाकडी गर्ने ? कुन शक्तिको भरोसामा आडमा सत्तामा जाने भन्ने उहाँको डिजाइन हो । रौतहट ३ का जनता १५/२० वर्षदेखि प्रभु साहको सबै कर्तुत, कुकर्म, क्रियाकलापको बारेमा जानकार छन् ।’