काठमाडौँ – डा. गोविन्द केसीले सरकारलाई सात दिने अल्टिमेटम दिएका छन् । चिकित्सा शिक्षा आयोगमाथिको हस्तक्षेप रोक्नुपर्ने माग सम्बोधन नभएको र छिट्टै माग सम्बोधन नभए सत्याग्रहसहितको आन्दोलन शुरुगर्ने चेतावनी दिएका छन् ।
डा. केसीले एक विज्ञप्ति जारी गर्दै सरकारलाई चेतावनी दिएका हुन् ।
विज्ञप्तिमा उनले लेखेका छन् :
“हाम्रो पछिल्लो सत्याग्रहका क्रममा चिकित्सा शिक्षा आयोगमाथिको हस्तक्षेप रोक्नुपर्ने एउटा प्रमुख माग रहेको थियो । वार्ताका क्रममा शिक्षामन्त्री तथा मुख्य सचिवले आयोगमा कर्मचारी खटाउने क्रममा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता पनि गरेका थिए ।
तर दुवै जनाले त्यो प्रतिबद्धता पूरा गरेका छैनन् । उल्टै आयोगको कार्य सम्पादन नै प्रभावित हुने गरी हस्तक्षेप चलिरहेको छ । आयोगको समन्वयविना त्यहाँ पठाएका भनिएका कर्मचारीले गुण्डागर्दी गरेर आयोगलाई अस्तव्यस्त बनाएका छन् । यसबाट आयोगलाई असफल बनाउन चाहने निहित स्वार्थ समुह र माफियाहरुको स्वार्थमा काम भएको देखिन्छ । साथै हामीसित भएको सम्झौता कार्यान्वयनका लागि शिक्षा मन्त्रीसित सम्पर्क गर्ने प्रयास गर्दा उनी सम्पर्कमा आएका छैनन् ।
यस्तो अवस्था हामीलाई स्वीकार्य छैन । त्यसैले हाल आयोगमा चलिरहेको हस्तक्षेप रोक्न र त्यहाँ देखिएको कर्मचारीसम्बन्धी समस्या आयोगका पदाधिकारीहरुसितको समन्वयमा तत्काल समाधान गर्न सरकारलाई सात दिने अल्टिमेटम दिन चाहन्छौं । त्यसो नभएमा सत्याग्रहसहितको आन्दोलन शुरु गर्न बाध्य हुने जानकारी पनि गराउँछौं ।”