एजेन्सी – १७३ जना सवार कोरियन एअर लाइन्सको विमान फिलिपिन्समा दुर्घटनामा परेको छ । फिलिपिन्सको सेबु अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा कोरियन एअर लाइन्सको विमान दुर्घटनामा परेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
दक्षिण कोरियाको सोलबाट सेबुको लागि उडान भरेको विमान दुर्घटनामा परेको हो । यद्यपि दुर्घटनाका बावजुद विमानमा सवार सबै यात्रु सुरक्षित रहेको रोयटर्सले जनाएको छ ।
खराब मौसमका कारण विमानले विमानस्थलमा दुईपटक अवतरण गर्ने असफल प्रयास गरेको थियो । तेस्रो प्रयासमा अवतरण गर्ने क्रममा विमानस्थलको धावनमार्गबाट विमान चिप्लिएको जनाइएको छ ।
दुर्घटनापश्चात विमानमा सवार यात्रुहरुलाई स्थानीय तीन वटा होटलमा सुुरक्षित साथ राखिएको छ । कोरियन एअर लाइन्सले घटनाको कारणबारे अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
दुर्घटनापछि सार्वजनिक गरिएको तस्वीर तथा भिडियोमा विमानमा क्षति पुगेको देख्न सकिन्छ । दुर्घटनापछि कोरियन एअरका अध्यक्ष किहोङ वुले एअर लाइन्सको वेबसाइटमार्फत् क्षमा मागेका छन् ।