काठमाण्डाै – धनगढीको मोहना घाटमा छठ पूजाको तयारी भइरहेको छ। तराई मधेस क्षेत्रमा मनाइने छठ पूजा शुक्रबार ‘नहायखाय’ विधिबाट सुरु भएसँगै घाट सजावटको काम भइरहेको हो। छठ पूजाका व्रतालुहरूले आइतबार अस्ताउँदो सूर्यको पूजा गर्ने छन भने सोमबार उदाउँदो सूर्यलाई अर्घ दिएर व्रत समापन गर्नेछन्।
तराई- मधेस क्षेत्रमा मनाइने छठ पूजा अचेल सुदूरपश्चिमको धनगढीमा मनाउन लागेको सोह्र वर्ष भएको छ। शुक्रबार ‘नहायखाय’ विधिबाट सुरु भएको धार्मिक तथा सांस्कृतिक पर्व छठको शनिबार ‘खरना’ विधि गरिएको छ। ‘रस्याउ रोटी’ भनिने यो विधिमा व्रतालुहरूले शनिबार साँझ घरघरमा छठी माताको पूजा गरेर दूध र सख्खर हालेर पकाइएको खीर(रस्याउ) र पुरी खाने चलन छ।
छठ पूजाका लागि पकाइने रस्याउ र रोटी प्रसादको रुपमा खाने चलन छ। कृष्ण एकादसीबाट घरमा शुद्ध शाकाहारी भोजन गरेर छठ पूजामाको व्रत बस्ने चलन छ। धनगढीमा पनि छठ पूजाका लागि मोहना छठी घाट सजावटको काम भइरहेको छ। गएका दुई वर्ष कोरोनाको कारण छठ पूजामा सहभागीको संख्या कम भए पनि यो वर्ष व्रतालुको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। पछिल्लो समय सुदूरपश्चिममा छठ पूजाका लागि सबै समुदायका व्रतालु सरिक हुन थालेको मोहना छठ पूजा समतिका अध्यक्ष सन्तोष मण्डलले बताए।
“अहिले छ्ठ पूजा सबै समुदायले मनाउन थालेका छन्,” उनले भने, “अहिले सबै समुदायको सहभागिता बढेको छ।” छठ पूजा गर्ने व्रतालुले आइतबार दिनभरि निराहार व्रत बसेर साँझ अस्ताउँदो सूर्य र सोमबार बिहान उदाउँदो सूर्यको अर्घ दिने र उपासना बस्नुपर्ने हुन्छ। छठ पूजाका व्रतालुहरू आइतबार साँझ पोखरी, तलाउ या नदी किनारमा बनाइएको छठी घाटमा पुगेर सूर्यलाई अर्घ दिएर आराधना गर्ने गर्छन्। तराई-मधेसमा महान पर्वको रुपमा मनाइने छठ पर्व अन्न उत्पादन र कृषि पेशासँग सम्बन्धित पर्व हो। धानखेती भित्र्याइएपछि मनाइने यो पर्वमा घरमै फलेको अन्न र फलफूल छठी मातालाई चढाइने धनगढीका विनोद कर्णले बताए। “छठ पूजा महान पर्व हो, यो शुद्ध शाकाहारी पर्व हो,” उनले भने, “छ्ठ व्रत बस्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ।” मोहना नदीमा बनाइएको छठी घाटमा पूजा गर्न छठ सेवा समितिले धनगढीले सजावटको काम गरिरहेको छ। छठ पूजाका लागि व्रतालुलाई पुरोहित आवश्यक हुँदैन भने व्रतालुले माटोको हात्ती बनाएर पूजा गर्छन्। छठ पूजा गर्दा व्रतालुको मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ।
छठ पूजा गर्न आइबारदेखि सोमबार विहानसम्म भजन किर्तन गरिने छठ पूजा समितिले जनाएको छ। ” छठ पूजाका लागि शनिबार व्रतालुले पिठोको ठेकुवा पकाउने गर्छन्। यसरी प्रसाद पकाउँदा निकै शुद्ध तथा पवित्रतामा ध्यान दिइन्छ।