काठमाण्डाै – ३ सय ८१ वर्षदेखि निरन्तर रुपमा सञ्चालन भइरहेको ऐतिहासिक कात्तिक नाच आजदेखि सुरु हुँदैछ । ललितपुरको ऐतिहासिक नाच यसवर्ष १० दिनसम्म चल्नेछ । कात्तिक नाच संरक्षण समितिका अनुसार कात्तिक २२ गतेसम्म मङ्गलबजारको कात्तिक दबलीमा बेलुकी ७ बजे नाच देखाइनेछ ।
हरेक दिनको नाचको लागि पाटन दरबार क्षेत्रमा रहेको नासल चोकमा ९० जना कलाकार भेला भएर नाचको तयारीमा व्यस्त हुने गर्दछन् । विशेष गरेर कृष्ण लिलामा आधारित नाचमा दिनैपिच्छे फरक-फरक नाचहरु देखाइने गरिन्छ । नाचमा दैत्य जगाउने परम्परा छ ।
आज भक्त सुरदास प्याँख देखाएर सुरु हुने कात्तिक नाच कात्तिक २२ गते दधिलिलाको नाच देखाएर समापन गरिनेछ । कात्तिक नाचको मुख्य आकर्षण नृसिहं अवतार कात्तिक २० गते देखाइनेछ । यस नाचमा राजोपाध्याय, श्रेष्ठ, प्रधान, अमात्य, जोशी, मल्ललगायत नेवार समुदाय भित्रको विभिन्न जातको प्रतिनिधित्व हुनेगर्दछ।
नेपाल सम्वत् ७६१ सालदेखि निरन्तर प्रदर्शन भइरहेको नाच यसपालि ३ सय ८२ वर्ष पुगेको छ ।