काठमाडाैं – अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्ष ०७८/७९ को पुँजीगत खर्च ९० प्रतिशत पुर्याउन निर्देशन दिएका छन् ।
पुँजीगत बजेट धेरै विनियोजन भएका १० मन्त्रालयको २४ फागुनसम्मको बजेट समीक्षा गर्न अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले यस्तो निर्देशन दिएका हुन् ।
उनले मध्यावधि समीक्षामार्फत ९० प्रतिशत पुँजीगत खर्च गर्ने लक्ष्य लिएकाले सोहीअनुसार बजेट कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।
बजेट कार्यक्रममा देखिएका समस्या पुरानै भएकाले आगामी बजेट निर्माण गर्दा सबै कमजोरी सुधार गर्न अर्थमन्त्री शर्माले निर्देशन दिएका छन् । सबै मन्त्रालयलाई बजेटको सिलिङ पठाइसकेको जानकारी दिँदै उनले कार्यक्रम बनाएर पठाउनुको सट्टा बजेट कार्यान्वयनमा हालसम्म देखिएका समस्या सुधार गर्ने कार्ययोजना पहिला पेस गर्न निर्देशन दिए । पुँजीगत खर्च ९० प्रतिशत पुयार्उन अर्थ मन्त्रालयले सबै प्रकारको सहयोग गर्ने उनले प्रतिबद्धता समेत जनाए ।
बढी पुँजीगत बजेट भएका मन्त्रालयले कम खर्च गरेको र आवको अन्त्यसम्म पनि पुँजीगत खर्च उल्लेख्य मात्रामा गर्न नसक्ने जानकारी दिएका थिए । मन्त्री शर्माले बढी पुँजीगत खर्च भएका मन्त्रालयको प्रगति सन्तोषजनक नहुनु चिन्ताको बिषय भएको बताए । बजेटमा सरकारी लगानीका आयोजना, बैदेशिक स्रोतका आयोजना र साना आयोजना गरी मन्त्रालयले कार्यक्रम बनाई कार्यान्वनय गर्दै आएको तर साना आयोजनालाई वेवास्ता गर्दा जनताले विकासको अनुभुति लिन नपाएको उनको भनाई थियो ।
कतिपय मन्त्रालयले बजेटमा परेको कार्यक्रमको समयसिमा बारे अझै बुझ्न नसक्दा कार्यान्वयनमा जटिलता थपिएको बताए । अर्थमन्त्री शर्माले बजेट कार्याक्रममा अधिकांश मन्त्रालयल अलमलिन थालेको र स्थानीय तह वा प्रदेशले गर्ने कामसमेत संघीय बजेटमा समावेश गर्ने गरेको बताए ।संघीय मन्त्रालयले बजेट आफुसँग राखेपछि कार्यविधि बनाउन ६ महिनासम्म लगाइदिने र स्थानीय तह तथा प्रदेशलाई काम गर्न बजेट नै नदिने गरेको अनुभव आफुसँग रहेको उनले बताए ।
कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले कमजोर पुँजीगत खर्च गर्ने प्रवृत्तिबाट आफु निराश भएको बताए । ‘भएको बजेटको कार्यान्वयन हेर्यो भने २० प्रतिशत पनि पुगेको छैन तर थप बजेटको माग गर्ने स्थिति हेर्यो भने बिकराल छ’ उनले भने, ‘अहिले भएकै बजेटलाई व्यापक उपयोग गर्नुस् ।’ उनले भएको बजेटको कार्यान्वयन गर्न र थप बजेट माग गरेर क्षमता भन्दा बढी काम गर्ने प्रयत्न नगर्न सुझाव दिए ।